ट्राफिक प्रहरीको फरक पहल: हवल्दार तिवारीद्वारा सडक सफाइ अभियान
काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य सडकमा ट्राफिक प्रहरी प्रभाग थलिका हवल्दार मनोज तिवारीले आफ्नो नियमित ड्युटीका अतिरिक्त समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्दै उदाहरणीय कार्य प्रस्तुत गरेका छन् ।
सडकमा गाडीबाट खसेको धूलो र माटोले सवारी आवागमनमा अवरोध सिर्जना गर्न सक्ने देखेर हवल्दार तिवारीले आफ्नो हातले कुचो उठाउँदै सडक सफाइ गरेका हुन् । उनको यो प्रयासले न केवल स्थानीयवासी र यात्रुहरूको मन जितेको छ, तर प्रहरीको भूमिकामा पनि नयाँ आयाम थपेको छ।
स्थानीयवासीले यो प्रयासलाई उच्च सम्मान गर्दै भने,“यसले ट्राफिक प्रहरीको जिम्मेवारीप्रतिको लगनशीलता र समर्पणलाई झल्काउँछ। यो सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ।”
सार्वजनिक ठाउँको सरसफाइ र ट्राफिक व्यवस्थापनलाई समान रूपमा प्राथमिकता दिने हवल्दार तिवारीको यो कार्य सम्पूर्ण प्रहरी सेवाका लागि अनुकरणीय उदाहरण बनेको छ।