कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु, तीन विधेयक दर्ता
सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं बैठकका रूपमा सञ्चालन हुने अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
गत पुस १९ गते कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ ७ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। यस सिफारिसका आधारमा प्रदेश प्रमुखको कार्यालयले पुस २१ गते अधिवेशनको समय घोषणा गर्दै सूचना जारी गरेको हो। अधिवेशन दिउँसो १ बजे प्रारम्भ हुनेछ।
यो अधिवेशनका लागि हालसम्म तीन विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भइसकेका छन्। सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ दर्ता भएका छन् ।
त्यस्तै चार विधेयक विभिन्न समितिमा छलफलको क्रममा रहेका छन् । जसमा अर्थ तथा प्राकृतिक स्रोत समितिमा कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश मामिला समितिमा कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक विकास समितिमा दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन सम्बन्धी विधेयक, कर्णाली प्रदेश खेलकुद विकास ऐन र २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल जारी रहेकाे सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार यी विधेयकमा छलफल जारी रहे पनि आवश्यक परेमा प्रदेश सरकारले अन्य नयाँ विधेयकहरू ल्याउन सक्छ।