समाज कल्याण र सेवाका लागि समर्पण जरुरी छ-मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजकल्याण र सेवाका लागि सबैले समर्पित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
तिलोत्तमा नगरपालिका-५ मा मानव सेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै उनले महायज्ञले मानव सेवा, विकास र उन्नतिका लागि सकारात्मक योगदान दिएकोमा खुसी व्यक्त गर्दै प्रदेश सरकारले पनि आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
मुख्यमन्त्रीले भने, “हामीले यो धर्तीमा रहेसम्म सेवामा समर्पित हुनुपर्छ। हाम्रो परम्पराले पनि हाम्रो आयको दश प्रतिशत समाज सेवामा लगाउन प्रेरित गरेको छ। त्यसैले यस्ता पवित्र कार्यमा सबैले मन र मुठ्ठी फुकाएर दान गर्नु जरुरी छ।”
आश्रमको निर्माणाधीन भवनलाई पूर्णता दिन आयोजित महायज्ञमा तीन करोड रुपैयाँभन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ। उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सामाजिक अभियानकर्ता लगायतको उल्लेखनीय उपस्थिति थियो।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहेका छन् । यस सातदिने कार्यक्रमअन्तर्गत बिहान योग, पण्डित तथा गुरुहरूको सामूहिक उपदेश, नाटक, झाँकी प्रदर्शन र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति जस्ता विविध गतिविधि समावेश गरिएका छन्। महायज्ञबाट संकलित रकम अक्षयकोष वृद्धि गर्ने उद्देश्यले प्रयोग गरिनेछ।
२०६९ सालमा स्थापना भएको मानव सेवा आश्रमले अहिलेसम्म १० हजार ६ सय ८९ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी व्यवस्थापन गरिसकेको छ।
सातवटै प्रदेशका २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको आश्रमले २०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ।
यस्तो महत्त्वाकांक्षी उद्देश्य पूरा गर्न महायज्ञजस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने र समाजलाई सेवामूलक कार्यतर्फ आकर्षित गर्ने मुख्यमन्त्री आचार्यको विश्वास छ।