७ माघ २०८१, सोमबार

सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  20 January, 2025 6:06 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन गरेका छन् ।

सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण अभियानअन्तर्गत् उक्त भवन निर्माण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिने बताए । “कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ”, उनले भने, ” हामी कार्यविधि निर्माणकाे तयारीमा छौं । यसै वर्ष कार्यविधि बनाउँछौं ।”

आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उनको भनाइ छ। मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ।

प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट संकलन गरिएको जनाइएको छ। भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ।

प्रदेश सरकार र मानवसेवा आश्रमको सहकार्यले सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उपप्रमुख, उद्योगी, व्यवसायी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस !