अब बुटवलमै बौद्ध शिक्षाको अध्ययन : नयाँ शैक्षिक कार्यक्रमका विद्यार्थीलाई अभिमुखीकरण
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहको नयाँ शैक्षिक कार्यक्रम ‘प्रायोगिक बौद्ध अध्ययन‘ अब बुटवलमै सञ्चालन गर्ने भएको छ। बुटवल सिटी क्याम्पसमा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराइएको कार्यक्रम संयोजक जेबी क्षेत्रीले जानकारी दिए।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. मानिकरत्न शाक्य, मानविकी तथा समाजशास्त्र अध्ययन संकायका डिन डा. हरिशरण चखु, विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. गितु गिरिलगायत विभिन्न पदाधिकारी तथा प्राध्यापकहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।
उनीहरूले बौद्ध दर्शनलाई शैक्षिक कार्यक्रममार्फत विस्तार गरी बुद्धका शिक्षालाई दैनिक जीवनमा उतार्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयले पहिलोपटक बुटवल सिटी क्याम्पसमा बौद्ध शिक्षाको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु गरेको हो। सोही कार्यक्रमका लागि विद्यार्थीहरूलाई अभिमुखीकरण गर्न समारोहको आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी विज्ञ तथा प्राध्यापकहरूले प्रयोगात्मक बौद्ध शिक्षाको महत्व र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको बताए ।
क्याम्पस प्रमुख डा. फणिन्द्रकुमार न्यौपानेका अनुसार बुटवल सिटी क्याम्पसमा पहिलोपटक सुरु गरिएको यस शैक्षिक कार्यक्रममा २९ जना विद्यार्थी छन् । औपचारिक कक्षा सुरु गर्नु अघि अभिमुखीकरण कार्यक्रम गरिएको डा. न्यौपानेले जानकारी दिए ।
राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि आफ्नो महापरिनिर्वाणसम्म बुद्ध शिक्षाको प्रचार गरेको थियो ।
अहिले सुरु गरिएको शैक्षिक कार्यक्रम बुद्ध शिक्षाको कोर पाटोमा आधारित छ। कार्यक्रम संयोजक क्षेत्रीका अनुसार यस शैक्षिक कार्यक्रमले मानव शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावका व्यावहारिक उपदेशलाई समेट्नेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा २ वर्षे स्नातकोत्तर तहको नयाँ कार्यक्रम सुरु गरेको हो । वार्षिक योजनाअन्तर्गत सञ्चालन हुने यो कार्यक्रमले बौद्ध शिक्षाको व्यावहारिक र प्रयोगात्मक पक्षलाई विशेष प्राथमिकता दिनेछ।