९ माघ २०८१, बुधबार

तुलसीपुरका वडाध्यक्षका जनप्रिय काम : सुत्केरीलाई भाले र किरियापुत्रीलाई घ्यू उपहार

प्रकाशित मिति :  21 January, 2025 8:02 pm


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सामाजिक सेवा र उदाहरणीय कार्यक्रममार्फत् देशभर चर्चित बन्दै गएको छ । वडाध्यक्ष मानबहादुर रावत नागरिककेन्द्रित सेवा र नविनतम योजनाका कारण वडाबासीमाझ मात्रै नभई चौतर्फि उदाहरणीय बन्दै गएका छन् । अन्य जनप्रतिनिधिमाझ रोलमोडलका रुपमा परिचित हुँदै गएका छन् ।

वडाले चालु आर्थिक वर्षको साउन महिनादेखि सुरु गरेका केही प्रभावकारी कार्यक्रमले जनतामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

सुत्केरीलाई भाले र किरियापुत्रीलाई घ्यू


वडाले सुत्केरी महिला र किरियापुत्रीलाई विशेष उपहार कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी महिलालाई १ हजार ५ सय रुपैयाँ बराबरको कुखुराको भाले र किरियापुत्रीलाई १ केजी घ्यू उपहारस्वरूप प्रदान गर्दै आएको छ ।

वडाध्यक्ष रावत उपहार लिएर सुत्केरी र किरियापुत्रीको घरदैलोमा पुग्ने गरेका छन् । हालसम्म ४० जना सुत्केरी र ३३ किरियापुत्रीलाई यो सेवा पुर्याइएको वडाध्यक्ष रावतले जानकारी दिए ।

सुत्केरी महिलाका लागि ८ पटक अनिवार्य गर्भ जाँच गराएको हुनुपर्ने प्रावधानसमेत राखिएको भन्दै रावतले कार्यक्रमले मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जानकारी दिए । दुवै योजना कार्यान्वयनका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

छात्रवृत्ति र पोशाक वितरण
वडाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर बढाउन छात्रवृत्ति योजना अघि सारेको छ । कक्षा १ मा भर्ना हुने सबै विद्यार्थीलाई १ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको वडाध्यक्ष रावतकाे भनाइ छ । यसका साथै वडाभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने सम्पूर्ण दलित विद्यार्थीलाई पोशाक वितरण गर्ने निर्णय गरेको वडाध्यक्ष रावतले जानकारी दिए ।

वडाध्यक्ष रावतका अनुसार यी योजनाले सामुदायिक विद्यालयतर्फ अभिभावकको विश्वास बढाउनुका साथै शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ । आगामी शैक्षिक शत्रदेखि यी कार्यक्रमलाई थप व्यवस्थित गर्दै कार्यान्वयनमा ल्याइनेछ ।

स्वास्थ्य र आपतकालीन सेवाः जनतालाई भरपर्दो सुविधा
वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सुत्केरीका लागि पोषणयुक्त आहारका साथै नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । यो पहलले मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

सर्पदंशजस्ता आकस्मिक अवस्थाका लागि वडाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । यो सेवाले आपतकालीन अवस्थामा नागरिकलाई राहत दिने काम गरेको छ ।

वडाध्यक्ष रावतको प्रतिबद्धता
वडाध्यक्ष रावतले आफ्नो कार्यकाललाई नागरिककेन्द्रित सेवामा समर्पित गरेका छन् । “हामी नागरिकका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर काम गरिरहेका छौं”, उनले भने, “सामुदायिक विकास र जनताको जीवनस्तर सुधारमा हाम्रो योजना प्रभावकारी सावित हुनेछ ।”

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा लागू गरेका कार्यक्रमले देशभरका वडालाई प्रेरणा दिएको छ । वडाध्यक्ष रावतले जनताको मन जित्ने कार्यशैली र योजनाले वडालाई समृद्धिको यात्रामा अग्रसर गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !