९ माघ २०८१, बुधबार

सांसदहरूको आरोपः समिति सदन भन्दा सरकारप्रति बढी जवाफदेही भयो

प्रकाशित मिति :  22 January, 2025 2:09 pm


काठमाडाैँ । समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए । समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिए ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको बताए ।उनले नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा आम रुपमा श्रोत र साधन तल जान नसकेको बताए ।

जसले गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको बताए । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने बताए । “आम रूपमा आर्थिक स्थितिमा जुन चलायमान हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि हाम्रो समितिको महत्वपूर्ण भुमिका छ । नेपालको सन्दर्भमा अहिले हेर्ने हो भने सबैभन्दा ठूलो क्रेता नेपाल सरकार हो । तर नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसकिसकेपछि आम रुपमा श्रोत र साधन तल जान सकिरहेको छैन । जसका कारण गरिबी घटाउन र विकास निर्माण अघि बढाउन सकिरहेका छैनौँ । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा हामी अघि बढ्नुपर्छ,” उनले भने ।

समितिको बैठकमा बोल्दै नेकपा-(एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताए । उनले समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने माग गरे । उनले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेहीहुन नसकेको आरोप लगाए ।उनले समिति समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताए । उनले केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनारुहरु अघि बढाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !