१० माघ २०८१, बिहिबार

वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिने

प्रकाशित मिति :  23 January, 2025 5:26 pm


काठमाडाैं । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी दिएका हुन् ।

उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने  क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका र व्यवस्थापन लागि सरकारले पहल गरिरहेकाे बताए । वैदेशिक रोजगारसम्बन्धीका मुद्दाहरु जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानून परिमार्जन गर्नुपर्ने उनकाे भनाइ छ ।

वैदेशिक रोजगारसम्बन्धी मुद्दा जिल्ला तहले हेर्ने व्यवस्था गर्न सकिएमात्रै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सकिने बताउदै मन्त्री भण्डारीले भने, “हामीले वैदेशिक रोजगारसम्बन्धी कानून परिमार्जन गर्न खोजिरहेका छौं । वैदेशिक रोजगारमा जाने श्रमिकले ठगिएको अवस्थामा जिल्ला अदालतमा जाने स्थिति भयो भने केही सुधार हुन्छ । अहिले जति पनि मुद्दा सर्वोच्चले हेर्न गर्दा समस्या भएको छ । वैदेशिक रोजगारको क्षेत्रमा भएका समस्याहरु फुकाउने गरी हामी अगाडि बढिरहेका छौं । हामी कहाँ करिव १५ हजार ठगीका उजुरीहरु आएका छन् । यदी यी मुद्दाहरु स्थानीय लेभलमै हामीले लिएर गएर स्थानीय तहले समाधान गर्छ भनेदेखि यो समस्याको समाधान हुन्छ ।”

उनले सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिएको पनि बताए । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !