‘निर्माण सिजनको समयमा सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धि गरेर नाजायज काम गरे’
काठमाडाैँ । सिमेन्ट उद्योगीहरुले निर्माण सिजनको समयमा मूल्य वृद्धि गरेर नाजायज काम गरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल निर्माण व्यवसायी महासंघसँग गरेको छलफलमा बोल्दै सांसदहरूले सिमेन्ट उत्पादक उद्योगीहरुले नाजाहेज रुपमा काट्रेलिङ गरेर मूल्य वृद्धि गरेको आरोप लगाएका छन् ।
समितिमा बोल्दै पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निर्माणको सिजनमा सिमेन्टको मूल्यवृद्धि गरेर व्यवसायीहरुले नाजायज काम गरेको बताए । उनले सिमेन्ट उद्योगीहरुले सिमेन्ट किन्नको एलसी खोलेर बस्दा पनि सिमेन्ट उद्योगीहरुले सिमेन्ट समयमा नदिएको बताए । उनले निर्माण व्यवसायीहरुलाई सिमेन्ट उद्योगीहरुले अमानविय व्यवहार गरिरहेको बताए ।
उनले साउनमा गरेको दर रेटमा टेण्डर भएकाले निर्माण व्यवसायीहरू समस्यामा परेको बताए । उनले सिमेन्ट उद्योगी व्यवसायीहरुले अत्याधिक मूल्य बढाइरहने हो भने निर्यात खोल्न बाध्य हुनुपर्ने अवस्था आउने बताए ।
नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले नेपालको ३२ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको बताए । उनले नेपालमा १६ करोड बोरा खपत हुने गरेको बताए । उनले सिमेन्ट उद्योगहरुले उत्पादन घटाएर काट्रेलिङ गरी मूल्यवृद्धि गरिरहेको बताए । उनले उद्योगीहरुले उपभोक्तालाई मारमा पर्नेगरी सिमेन्टको मूल्य बढाउन नपाउने बताए ।
नेपाली काँग्रेसका सांसद राजु थापाले समितिले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल दिलाउन पहल गर्नुपर्ने बताए । उनले सिमेन्ट उद्योगीहरुले कृतिम रुपमा मूल्यवृद्धि गरेको बताए । उनले निर्माण व्यवसायीहरु यति बेला ठूलो मारमा रहेकाले सरकारले आवश्यक नीतिगत रुपमा सहजिकरण गर्न आवश्यक रहेको बताए ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले सिमेन्ट उद्योगी,निर्माण व्यवसायी वा सरकारको दोषी हो भन्ने छुट्याउन नसक्ने अवस्थामा रहेको बताइन् । उनले ३२ करोड बोरा सिमेन्ट उत्पादन गरी १६ करोड मुलुकभित्र खपत गरी बाँकी निर्यात गरी आर्थिक उन्नति गरेको अवस्था रहेको बताइन् । उनले कालोबजारी व्यवसायीदेखि सरकारसम्म लागेको देखिएको बताइन् ।