१० माघ २०८१, बिहिबार

कर्मचारीको मनोबल बढाउँदै जनउत्तदायी बनाउने गरी संघीय निजामति विधेयक ल्याउनुपर्नेमा सांसदहरूको जोड

प्रकाशित मिति :  23 January, 2025 6:35 pm


काठमाडाैँ । संघीय निजामति विधेयक कर्मचारीको मनोबल बढाउँदै जनउत्तदायी बनाउने गरी ल्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले संघीय निजामति सेवाले प्रदेश र स्थानीय निजामति सेवासँग समन्वयन गर्नेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा बोल्दै नेकपा (माोवादी केन्द्र) का सांसद हितराज पाण्डेले निजामति सेवा ऐन नभई संघीय निजामित ऐन बनाइरहेको उल्लेख गर्दै तीन तहमा देखिएका समस्याहरूको समाधान गर्नेगरी ऐन ल्याउनुपर्ने बताए । उनले तीन तहको निजामति सेवाबीचको समन्वयकारी संयन्त्रण विकास गर्नेगरी विधेयक ल्याउन जरुरी रहेको बताए । विधेयकले कर्मचारी समायोजनको समस्याको निकास दिनुपर्नेमा उनको जोड छ । 

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विधेयकमा छलफलका क्रममा परेका संशोधनहरुलाई संधै लिएर अघि बढ्नुपर्ने बताए । उनले यस विधेयकबाट कर्मचारीतन्त्रमा पारदर्शिताको अपेक्षा गरिएको बताए । उनले कर्मचारीको गिरेको मनोबल उच्च बनाउने विधेयकलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्दै विधेयकमा अब केही थप्नु हुँदैन भन्ने मनोविज्ञानमा नबस्न सभापतिको ध्यानाकर्षण गराए । 

नेकपा (एमाले) का सांसद रघुजी पन्तले कर्मचारीलाई आफ्नो कामप्रति उत्तरदायी बनाउँदै भविष्यबारे विश्वस्त बनाउनुपर्ने बताए । राज्यका निकायहरुमा संस्थागत विकास गर्नेगरी विधेयक अगाडि बढाउनुपर्ने बताए । बिहीवार बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । आजको बैठकमा विधेयकको प्रश्तावना संशोधन गर्न सहमति जुटेको छ ।



प्रतिक्रिया दिनुहोस !