शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोषित
काठमाडाैँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय जनता आक्रोषित भएका छन् ।
केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ स्थित झौखेलमा जग्गा प्राप्ति गरेका ४ वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य शुरु नभएपछि जनप्रतिनिधि र स्थानिय आक्रोषित भएका हुन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्ले २०७८ साल जेठ १३ गते केन्द्रकै माग बमोजिम झौखेलमा रहेको ३१ रोपनी ३ आना सार्वजनिक जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । तर जग्गा प्राप्तिको निर्णय भई अस्पतालका नाममा जग्गा लिज सम्झौता प्रमाणपत्र समेत प्राप्त भइसक्दा पनि अस्पताल प्रशासनले भवन निर्माणको काममा आलटाल गर्दै आएको छ ।
चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष श्यामसुन्दर धिमालले जग्गा लिज दिने निर्णय भएको चार वर्षमा पनि अस्पताल प्रशासानले कुनै चासो नदेखाएको बरु विभिन्न बहानाबाजी गर्दै आलटाल गर्ने गरेको गुनासो गरे । उनले अस्पताल निर्माणका लागि सरकारले डिपिआरको लागि मात्रै एक करोड र जग्गा समांकनका लागि २८ लाख रुपैयाँ छुट्याएकोमा हालसम्म रकम नै खर्च गर्न नसकेको भन्दै अहिले पनि अस्पताल निर्माणको लागि पर्याप्त बजेट दिएको उल्लेख गरे । उनले अस्पतालको भवन निर्माणका काम तत्काल शुरु गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे ।
केन्द्रले हाल अस्पतालको सेवा भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीमा रहेका साँंघुरो एउटा भबनबाट मात्रै दिँदै आएको छ । यता स्थानीयले भने राजनीतिक पहुँचको आधारमा अस्पताल अन्तै स्थानान्तरण गर्ने खेल भएको भन्दै आक्रोष जनाएका छन् । स्थानीयहरूले नगरकै गौरवको आयोजनाको रुपमा रहेको उक्त केन्द्र अन्तै स्थानान्तरण गर्न खोजिए त्यसको विरुद्धमा उत्रिने चेतावनी समेत दिएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माणका कार्य सुरू नभएको भन्दै जनप्रतिनिधि र स्थानिय आक्रोषित भइरहँदा त्यसैको प्राङ्गणमा रहेको नेपाल मेडिकल कलेजले सञ्चालन गरेको सामुदायिक स्याटलाइट स्वास्थ्य केन्द्रको हालत भने दर्दनाक छ । कोरोना महामारीअघि भवय रूपमा सञ्चालन भइरहेको अस्पतालमा हाल भने प्रेसर र सुगरको जाँच बाहेक अन्य कुनैपनि सेवा उपलब्ध छैन । भारत सरकारको सहयोगमा निर्माण भएको उक्त अस्पतालमा डाक्टर समेत आउन छोडिसकेका छन् ।