११ माघ २०८१, शुक्रबार

अर्थतन्त्र चलायमान बनाउन सरकारी र निजी क्षेत्रले भैरहवामा संयुक्त छलफल गर्ने

प्रकाशित मिति :  24 January, 2025 12:51 pm


बुटवल । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर भैरहवामा प्रदेशस्तरको गोष्ठी हुने भएको छ । खुल्ला सिमाना यसले पारेको प्रभाव,अवैध कारोवारको नियन्त्रणका साथै भन्सारलाई छिटो छरितो र विश्वसनीय बनाउन साझा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी हुन लागेको हो ।

निजी क्षेत्रका तर्फबाट नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा संसदको आर्थिक समितिका सभापति सहित प्रतिनिसभा सदस्यहरु, लुम्विनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु, तीनवटै प्रहरी संगठनका प्रमुख,प्रदेशका भन्सार कार्यालयका प्रमुखहरु,राजश्व अनुसन्धान र आन्तरिक राजश्व कार्यालयका प्रमुखसहित निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

गोष्ठीले भन्सार छली नियन्त्रणका उपाय, अबैध कारोवारको निरुत्साहन, उद्योग ब्यवसाय प्रवद्र्धन र अर्थतन्त्रको चलायमानका उपायहरु खोज्ने नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशका महासचिव शिव ज्ञवालीले बताए ।

त्यसवाहेक स्थलमार्गबाट नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सुरक्षा जांचका नाममा अनावश्यक दुःख दिंदा पर्यटकहरु भ्रमण छोट्याएर फर्किने गरेको, दोस्रो पटक भ्रमणमा आउन नखोजेको तथा भारतमा नकारात्मक सन्देश प्रवाह भएकाले त्यसको समाधानका लागि समेत यो गोष्ठी उपयोगी हुने अपेक्षा गरिएको छ ।

लुम्विनी प्रदेशका छोटी भन्सार नाकाहरुबाट अवैध सामान ओसारपसार हुने गरेको, प्रहरी प्रशासनले नियन्त्रणमा चासो नदेखाएको तथा भन्सार प्रकृया झन्झटिलो हुंदा ब्यवसायीले अवैध प्रकृयाबाट सामान भित्र्याउने गरेको गुनासो बढेकाले सरकार र निजी क्षेत्रको संयुक्त उपस्थितीमा यस्तो कार्यक्रम गर्न खोजिएको चेम्वरले बताएको छ ।

संघीय संसदको अर्थसमितिका सभापतिसहित सदस्यहरु समेत कार्यक्रममा सहभागी हुँदा समस्या समाधानका लागि नीतिगत तहमा समेत प्रभावकारी भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

भैरहवास्थित चेम्वर अफ कमर्स सिद्धार्थनगरको सभाहलमा आयोजना हुने गोष्ठीमा निजी क्षेत्रले उत्साहजनक सहभागिता जनाउने चेम्वर अफ कमर्स लुम्विनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस !