एक वर्षभित्र मन्त्रालयसँग सम्बन्धित सबै कानूनहरू समयानुकल बनाउँछौंः सञ्चारमन्त्री
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानूनहरू एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गरेका छन् ।
आइतवार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताएका हुन्। उनले हुलाक सेवाको सुधारको लागि नयाँ ऐन र नीति नबनाइकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताए ।
पुराना ऐन र कानूहरुको आफूअनुकुल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उनले बताए । सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उनको भनाइ छ ।
उनले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैँमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरुको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।