१४ माघ २०८१, सोमबार

पत्रकार महासंघ लुम्बिनी प्रदेशले एक करोडको पत्रकार हितकोष स्थापना गर्ने

प्रकाशित मिति :  26 January, 2025 5:41 pm


दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो बैठकले पत्रकार हितका लागि एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता आइतबार सम्पन्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिको बैठकले पत्रकार हितका लागि स्थापना गरिने पत्रकार कल्याण कोष अभिवृद्धिका लागि तीनै तहका सरकार, विभिन्न दाता, शुभेच्छुक र पत्रकार साधारण सदस्यहरूसँग अपिल गर्ने निर्णय गरेको महासचिव पाण्डवप्रसाद शर्माले जानकारी दिए ।

महासंघलाई रणनीतिक, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्दै दीर्घकालीन उद्देश्य प्राप्त गर्न अध्यक्ष चौलागाईंलाई वार्षिक कार्ययोजना ल्याउने जिम्मेवारी दिइएको छ ।

बैठकले लुम्बिनी प्रदेशस्तरीय सञ्चार प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग बजेटका लागि पहल गर्ने निर्णय गरिएको छ ।

समितिको निर्णय प्रक्रियालाई छरितो र प्रभावकारी बनाउनका लागि पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णय भएको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत गठित प्रदेश सञ्चार समन्वय परिषद्लाई क्रियाशील बनाउन पहल थाल्न सम्बद्ध मन्त्रालयलाई जोडदार माग गरिएको छ ।

प्रदेश र स्थानीय तहलाई सञ्चारमैत्री कानून र कार्यक्रम ल्याउन आग्रह गर्ने निर्णयसमेत गरिएको छ । महासंघको कामलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामप्रसाद आचार्यको संयोजकत्वमा कार्यक्रम तथा प्रकाशन विभाग, उपाध्यक्ष मीना ढकालको संयोजकत्वमा महिला विभाग र महासचिव पाण्डवप्रसाद शर्माको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ ।

बैठकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ । क्यालेन्डर प्रकाशनका लागि सचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा कोषाध्यक्ष प्रेमनारायण आचार्य, सदस्यहरू तेजेन्द्र केसी, प्यार अलि खाँन र सीता पाण्डेलाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !