१५ माघ २०८१, मंगलबार

सम्पती शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी छः अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  27 January, 2025 2:27 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पती शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी  रहेको बताएका छन् ।

सोमवार सम्पती शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले वित्तीय अपराध न्युनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानून र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । उनले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले सम्पती शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गरे । उनले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले सम्पती शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे ।

उनले अनुसन्धान र अभियोजनका काम,कारबाहीलाई अघि बढाएको उल्लेख गरे । उनले यो बिचमा सम्पती शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको स्वीकार गरे । उनले नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !