१५ माघ २०८१, मंगलबार

संसदको माघ महिनाको कार्यतालिका तयार, मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

प्रकाशित मिति :  27 January, 2025 3:14 pm


काठमाडाैँ । माघ १८ गतेबाट सुरू हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ ।

सोमवार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक/सचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनकाअनुसार  २५,२६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८,२९ र ३० गते पुनः संसदको बैठक बस्नेछ । संसद सुचारू हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताए।

त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेकाे बताए । उनले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताए । उनले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताएत्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !