न्याय परिषद् सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता खड्काको संसदीय सुनुवाई माघ २० मा हुने
काठमाडाैँ । न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाई माघ २० गते हुने भएको छ ।
संघीय सुनुवाई समितिको बैठकले खड्काको सुनुवाई माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो । उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहनुभएका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।
पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नुहुन्छ भने सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानूनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानूनविद् सदस्य रहने व्यवस्था छ ।