१७ माघ २०८१, बिहिबार

लुम्बिनी प्रदेशको सुशासन र विकासका लागि कांग्रेस-एमालेको संयुक्त प्रतिबद्धता

प्रकाशित मिति :  28 January, 2025 3:40 pm


काठमाडाैँ । कपिलवस्तुको चन्द्रौटामा गत माघ १३ गते नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय जिल्ला संयन्त्रहरूको प्रदेश स्तरीय संयुक्त बैठक सम्पन्न भएको छ। बैठक नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको सभापतित्वमा र नेकपा (एमाले) का केन्द्रीय सचिव पद्मा अर्यालको उपस्थितिमा भएको हो।

बैठकले सरकारको निरन्तरता र सफलताका लागि संयुक्त प्रतिबद्धता व्यक्त गर्दै संविधान संशोधनमार्फत सुशासन र विकास निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएकाे छ । दुई दलको नेतृत्वमा रहेको सरकारलाई जनताले गरेका अपेक्षालाई सम्बोधन गर्दै कुनै पनि हालतमा असफल हुन नदिने बैठकको निष्कर्ष थियो। सरकार ढल्ने हल्लालाई निराधार र कपोकल्पित भन्दै बैठकले यस्ता अफवाहले अस्थिरता सिर्जना गर्ने चेतावनी पनि दिएको छ।

बैठकले जिल्लास्तरका संयन्त्रहरूलाई अझ प्रभावकारी बनाउन माघ मसान्तभित्र गठन र औपचारिक बैठकको निर्देशन दिएको छ। साथै, लुम्बिनी प्रदेशभित्र देखिएका मुख्य समस्याहरूको समाधानका लागि सरकारलाई सक्रिय पहल गर्न अनुरोध गरिएकाे थियाे ।

बैठकले बुटवल-नारायणगढ सडकको निर्माण समयमै पूरा गर्न, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सहज सञ्चालनमा ल्याउन, र हुलाकी राजमार्गका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ। त्यस्तै, त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खननबाट सिर्जित वातावरणीय प्रभावको उचित समाधान गर्न र रामपुर-कपुरकोट सडक आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पनि जोड दिएकाे छ ।

स्वास्थ्य क्षेत्रमा देखा परेका चुनौतीहरूलाई समाधान गर्न पालिकास्तरीय अस्पतालहरूमा दक्ष जनशक्तिको व्यवस्थापन र डाक्टरसहित दरबन्दी सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएकाे छ । लुम्बिनी विकास प्रक्रियामा प्रदेश सरकारको सक्रियता बढाउन आवश्यक व्यवस्था गर्न सरोकारवालालाई आह्वान गरिएको छ।

बैठकमा सहभागी संयन्त्रका सदस्य, मुख्यमन्त्री, सांसदहरू, र मन्त्रीहरूले सरकारका कामकारबाही र विकास निर्माणसँग सम्बन्धित जनताको चासोका विषयमा विचार राखेका थिए। बैठकले तिनको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ।

यो संयुक्त बैठकले लुम्बिनी प्रदेशको सुशासन र विकासका लागि ठोस मार्गदर्शन दिएको छ। बैठकको समापनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन र नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सहकार्यलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिवद्धता जनाए।



प्रतिक्रिया दिनुहोस !