१७ माघ २०८१, बिहिबार

सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सक्रिय छ-उपमहासचिव ज्ञवाली

प्रकाशित मिति :  28 January, 2025 3:48 pm


गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सक्रियतापूर्वक लागिपरेकाे बताएका छन् ।

प्रेस चौतारी नेपालले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले भने, “सरकारकाे ध्यान सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणतर्फ गइरहेकाे छ । छोटो समयमै देशले थुप्रै उपलब्धि हासिल गरेको छ । सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण उल्लेखनीय कार्य भएका छन् ।”

पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले दुई ठूला पार्टीहरु जुन उद्देश्यका साथ सरकारमा आएका थिए, त्यो उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले सरकारलाई असफल देखाउन केही विपक्षी दलका नेताहरूले चरम निराशाको खेती गर्दै देशलाई राजनीतिक अस्थिरतातर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाए ।

सरकारबाट बाहिरिएका केही नेताहरूले आवेग र कुण्ठाका आधारमा जनतामा निराशाका कथा निर्माण गर्न खोजेको टिप्पणी गर्दै ज्ञवालीले यस किसिमका क्रियाकलापले देशलाई फाइदा नपुग्ने स्पष्ट पारे ।

बिग्रिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै ओरालो लागेको अर्थतन्त्रलाई सुधार्न र देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सरकार गठन भएको आवश्यकता रहेको उनको भनाइ छ।

उपमहासचिव ज्ञवालीका अनुसार, पछिल्लो समयमा राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीहरूले सरकारको नेतृत्वदायी भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । डेढ वर्षसम्मको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादल हटाउँदै लोकतन्त्रप्रति विश्वास कायम गर्न सरकार क्रियाशील बनेको ज्ञवालीले दाबी गरे।

सरकारका यी प्रयासहरूले देशको विकास, सुशासन र समृद्धितर्फ नागरिकहरूको अपेक्षालाई थप बल प्रदान गर्ने विश्वास व्यक्त गर्दै ज्ञवालीले जनतासँग निरन्तर संवाद र सहभागिताको खाँचो औँल्याए ।



प्रतिक्रिया दिनुहोस !