स्कुल हिडेका शिक्षक तुलसीपुरको व्यस्त बजारमै लुटिए
दाङ । दाङमा विद्यालय जाँदै गरेका शिक्षक लुटिएका छन् । जिल्लाको तुलसीपुरस्थित सप्तरङ्गी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक टोपलाल बिक तुलसीपुरको व्यस्त बजारमा लुटिएका हुन् ।
सल्यान घर भई तुलसीपुरको टरिगाउँमा बस्दै आएका शिक्षक बिकले १९ नम्वर बाहिनी नजिकै आफूमाथि लुटपात भएको जनाएका छन् । शिक्षक बिकका अनुसार ३ जना युवाको समूहले आज बिहान लुटपाट गरेकाे थियाे ।
‘‘बिहान साढे ९ बजेको थियो । स्कुलतर्फ पैदल जाँदै थिएँ । तुलसीपुरको बाहिनी अड्डा नजिकै पुगेको थिएँ । पछाडिबाट रोक भन्ने आवाज आयो । फर्केर हेर्दा ३ जना केटाहरु मेरो नजिकै आएर पैँसा निकाल भने । मैले मसँग पैसा छैन, भनेपछि एकजनाले चक्कु निकाल्यो, अर्कोले मेरो गोजीमा हात हालेर मसँग भएको ५ हजार रुपैयाँ निकाल्यो र सबैजना भागे’‘, शिक्षक बिकले भने ।
दिउँसै तुलसीपुर बजारमा यस्तो घटना होला भनेर कल्पना पनि नगरेर आफ्नै सुरमा हिडेको अवस्थामा यस्तो हुनु दुःखद् रहेको भन्दै उनले लुटेरा समूहको पहिचान गरी कारबाहीको माग गरे ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको जानकारी नआएको जनाएको छ । कार्यालय प्रमुख डीएसपी अनिल ठकुरीले घटनाबारे प्रहरीलाई जानकारी नआएको बताए ।