३ आश्विन २०८१, बिहिबार

कृषि मन्त्रीतर्फ इंगित गर्दै खतिवडाले भने:कृषि क्षेत्रमा ८० अर्ब बजेट छ, साँघुरो घेराबाट नहेरौं

प्रकाशित मिति :  1 June, 2020 12:30 pm


काठमाडौं, १९ जेठ ।

अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा बजेट कम भएको विषयमा संसदमा कटाक्ष गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालतर्फ इंगित गर्दै ‘कृषिलाई साँघुरो घेराबाट नहेर्न’ अनुरोध गरेका छन् ।

मन्त्री भूसालले प्रस्ताव गरेको योजना कटौती गरेको भन्दै सांसदहरुबाटै विरोध भएपछि अर्थमन्त्री खतिवडाले दोस्रो पटक स्पष्ट पारेका छन् । बजेटपछि पत्रकारसम्मेलन गर्दै कृषिको आधा बजेट कृषि मन्त्रालय बाहिर रहेको बताएका थिए ।

सोमबार प्रतिनिधिसभा वैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिंदै यसअघिकै उनको भनाई बचाउ गरेका हुन् । ‘कृषि भनेको कृषि सामग्री मात्र हैन, साँघुरो घेराबाट नहेरौं,’ उनले भने, ‘कृषि क्षेत्रमा ८० अर्ब बजेट छ ।’

भूमि बैंक सम्बन्धि रकम र सहकारीले कृषि कार्य गर्ने रकम भूमी मन्त्रालय रहेको र कृषिसँग सम्बन्धित रकम सिंचाइको बजेट उर्जा मन्त्रालयमा रहेको बताए ।

कृषिका लागि आवश्यक विद्युत अनुदानसँग सम्बन्धित उर्जामा, कृषिको भण्डारणको कुरा उद्योगमा रहेको उनले बताए ।

जनशक्ति उत्पादन गर्न कृषि क्याम्पसमा पनि बजेट रहेको र प्रदेश र स्थानीय तहमा पनि कृषिमा जाने कुरा पनि विर्सन नहुने उनको भनाइ छ । कृषि मूल्य श्रंखलामा बजेट छरिएर धेरै क्षेत्रमा रहेको स्पष्टोक्ति अर्थमन्त्री खतिवडाको छ ।



प्रतिक्रिया दिनुहोस !