सरकारद्वारा नसर्ने रोगबाट बच्न एक महिने परीक्षण अभियान सुरू

काठमाडाैँ । सरकारले नसर्ने रोगहरुबाट बच्न आवश्यक सावधानीका लागि एक महिने परीक्षण अभियान सुरू गरेको छ ।
नसर्ने रोगकै कारण हुने मृत्युदर घटाउन जनचेतना अभिवृद्धिका लागि सरकारले फागुन १ गते (आज) बाट अभियान शुरु गरेको हो । नेपालको कुल मृत्यु संख्यामध्ये ७९ प्रतिशत नेपालीको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नसर्ने रोग समयमै समाधान गर्नसके सामान्य मान्छे सरह बाँच्न सकिने भएकाले आफू स्वस्थ छु कि छैन भनेर स्वास्थ्य संस्था जाने बानीको विकास गर्नुपर्ने उनले बताए । परीक्षणबाट केही समस्या देखिए जीवनशैली परिवर्तन गरेर रोगबाट हुने क्षति कम गर्न सकिने उनकाे भनाइ छ ।
यो अभियानबाट प्राप्त उपलब्धिलाई प्रविष्ट गर्न र अर्को वर्ष पनि अभियान सञ्चालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच सहमति भएको प्रवक्ता डा. बुढाथोकीले बताए । तीन तहका सरकारले बजेट राखेर अभियान सफल बनाउने र निरन्तरता दिने भन्ने विषयगत समितिमा निर्णय भएको उनले बताए ।
तीन तहले थोरैथोरै बजेट छुट्याएर अर्को वर्ष अभियानलाई निरन्तरता दिने प्रवक्ता बुढाथोकीको भनाइ छ । सरकारले आजबाट ३० वर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरू गरेको हो । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । ३० वर्ष माथिका उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाई र तौलको अनुपात पहिचान गर्ने लक्ष्य लिइएको छ ।