२६ चैत्र २०८१, बुधबार

प्रज्ञाप्रतिष्ठानमार्फत् भाषा, संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौं–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  22 February, 2025 1:39 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रज्ञाप्रतिष्ठानमार्फत् भाषा, संस्कृतिको खोज अनुसन्धानलाई गति दिने बताएका छन् ।

लुम्बिनी प्रदेश बाङ्मय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौं साधारणसभाको बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी मौलिक भाषा, कला, संस्कृति, सभ्यताको उर्वरभूमि भएको चर्चा गर्दै प्रज्ञाप्रतिष्ठानमार्फत् भाषा, संस्कृतिको खोज अनुसन्धानलाई गति दिने बताएका हुन् ।

प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सभ्यताको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बोधन गरिने बताए । मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजको ऐना भएको, विकृति, विसंगतिका बिरुद्ध साहित्यक कलमको माध्यमबाट खबरदारी गर्दै खोज अनुसन्धानको क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताए ।

लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएको, विधेक तर्जुमा निर्माणको काम भइरहेको जानकारी दिए । “भाषा, साहित्य, कला, संस्कृतिलगायत सम्पदाको अध्ययन, अनुसन्धान अघि बढाउन प्रज्ञाप्रतिष्ठान गठन गर्न थालिएको हो”, मुख्यमन्त्री आचार्यले भने, “प्रज्ञाप्रतिष्ठान गठनका लागि मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएका छौं । बर्खे अधिवेशनमा प्रज्ञाप्रतिष्ठान पारित हुन्छ ।”

अर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेको बताउँदै उहाँले असार महिनासम्म नियमावली बनाएर कार्यान्वयनमा लैजाने बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानको भण्डार भएको बताए । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेको धारणा राखे । मुलुकको धर्म, संस्कृति र राष्ट्रियता जोगाउन कलमको माध्यमबाट योगदान पु¥याएको भन्दै योगदानको उच्च कदर गरे ।

प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरेको, नेपाली भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैको प्राथमिकमा पर्न जरुरी रहेको धारणा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !