२६ चैत्र २०८१, बुधबार

ललितकला प्रदर्शनी सुरु : लुम्बिनीको माटोका बुद्धका मूर्ति विश्व बजारमा पुर्याउन सकिन्छ-आचार्य

प्रकाशित मिति :  22 February, 2025 5:44 pm


बुटवल । लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित यस प्रदर्शनीको उद्घाटन गरे ।

ललितकला प्रदर्शनीमा चित्र, मुर्ति र लोक कला मार्फत लुम्बिनीलाई चिनाउने प्रयास गरिएको छ । प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका १२३ कलाकारहरूले १८० कलाकृति प्रस्तुत गरेका छन् ।

उदटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै कला, संस्कृति, भाषा, साहित्य, र सिर्जनाको संरक्षण र प्रवद्र्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।

“लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ । कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “हाम्रो सम्पदाका चित्र बनाएर बजारमा पु¥याउँदा आम्दानी बढाउन सकिन्छ ।”

मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत् ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

“कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार र सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीहरूले नेपाली ललितकला क्षेत्रको प्रवद्र्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्नेछन्”, उनले भने ।

उनले यस्ता प्रदर्शनीहरूको माध्यमबाट विभिन्न सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवद्र्धनका लागि प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अघि बढाइसकेको जानकारी पनि दिए ।

उनका अनुसार, विधेयक तर्जुमा प्रक्रिया जारी छ र ऐन सबै पक्षलाई समेटेर तयार गरिनेछ । उनले प्रदेश सरकार ललितकला सहित सम्पूर्ण कलाक्षेत्रको समग्र विकासमा सकारात्मक रहेको बताएका छन् ।

यो प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुरु भएको हो र फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए ।

उनले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकारहरूको पहिचान र प्रवद्र्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गरे । उनले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका क्षेत्रका स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरू आगामी दिनमा सार्वजनिक स्थलमा कोरिने जानकारी दिए ।

कार्यक्रमको दौरान, कलाकार नरबहादुर विकले २० मिनेटको अवधिमा कोरेको चित्र मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !