लुम्बिनीको सामर्थ्य
कृषि, वन, पर्यटन र उद्योगका पूर्वाधार विकास र विस्तार गर्न सके लुम्बिनी प्रदेशले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउँदै समग्र मुलुककै अर्थतन्त्रमा योगदान दिनसक्छ ।

कृषि, वन, पर्यटन र उद्योगका पूर्वाधार विकास र विस्तार गर्न सके लुम्बिनी प्रदेशले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउँदै समग्र मुलुककै अर्थतन्त्रमा योगदान दिनसक्छ ।
रुद्र खड्का

- लुम्बिनी प्रदेशले देशभरीको धान उत्पादनमा २१ दशमलव ३५ प्रतिशत, गहुँ उत्पादनमा १४ प्रतिशत र मकै उत्पादनमा २३ प्रतिशत भन्दा बढीको योगदान गरिरहेको छ ।
- विश्वभरका बौद्ध धर्मालम्वीहरुका लागि भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्व प्रख्यात पर्यटकीयस्थल हो । बुद्धसँग जोडिएका लुम्बिनी, तिलौराकोट, कुदान, देवदह र रामग्राम यहाँका पुरातात्त्विक र धार्मिक सम्पदा हुन् । बौद्ध दर्शन, शिक्षा, सम्पदा, संस्कृतिलाई उजागर गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय पनि स्थापना गरिएको छ ।
- विश्वभरका पर्यटकले प्राकृतिक वासस्थानमा बाघ हेर्न पाउने बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज यहीँ पर्छ । जहाँ लोपोन्मुख कृष्णसार र चौका अवलोकन गर्र्न पाइन्छ ।
- अमेरिकी अन्वेषण टोलीले रुपन्देही र पाल्पाको संगम सिद्धबाबा क्षेत्रमा वि.सं. २०३७ सालमा १ करोड १० लाख वर्ष पुरानो ‘रामापिथेकस’ मानवको बङ्गारा फेला परेको थियो । रामापिथेकसको प्रचारप्रसारका लागि तिनाउतट नजिकै रामापिथेकस पार्क बनाइएको छ ।
- नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगमध्ये ७५ प्रतिशत लुम्बिनी प्रदेशमा छन् । देशभरका ६० सिमेन्ट उद्योगमध्ये जगदम्बा, अर्घाखाँची, दाउन्ने, सोनापुर, सगरमाथालगायत ४५ सिमेन्ट उद्योग त लुम्बिनीमै छन् । बुटवल, भैरहवा, नेपालगञ्ज औद्योगिक हव बनेका छन् ।
कृषि, पर्यटन, ऐतिहासिक, धार्मिक, पुरातात्विक र औद्योगिकलगायतका दृष्टिकोणले लुम्बिनी देशकै उत्कृष्ट प्रदेशमा पर्ने यी दृष्टान्तबाट पनि बुझ्न सकिन्छ । प्राकृतिक स्रोत र साधनले पनि लुम्बिनी उर्वर र सम्भावनायुक्त प्रदेशमा पर्छ । अहिलेको प्रश्न उपलब्ध स्रोत र साधनबाट आमसर्वसाधारणको जीवन पद्दतिमा कसरी सुधार गर्ने भन्ने हो । यद्यपि लुम्बिनीमा भइरहेका आर्थिक गतिविधिहरूले अत्यन्तै राम्रो सम्भावना र सुनौलो भविष्यलाई संकेत गरिरहेका छन् । उदाहरणका लागि निर्माण कार्य सम्पन्न भएको लामो समयपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । रुपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालनमा आएको छ । नेपालगञ्ज, दाङलगायतका स्थानमा निजी क्षेत्रले कृषि उत्पादनमा नयाँ प्रविधिसहित काम गरिरहेको छ । रोल्पा, पूर्वी रुकुम, गुल्मीजस्ता माथिल्लो भू–भागमा जडीबुटी खेती भइरहेको छ ।
समृद्ध प्रदेशका सम्भावनाहरू
तराई, पहाड र हिमाल रहेको लुम्बिनी प्रदेशमा सम्भावना नै सम्भावना छ । जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ः
कृषि
लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका अधिकांश क्षेत्र कृषि उपज उत्पादनका लागि आवश्यक मौसमी अनुकूलता रहेको छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीलगायत भित्री मधेस तथा तराईका जिल्लाहरू कृषि उत्पादनका लागि उर्वर भूमि हुन्् । साथै, पहाडी जिल्लामा पनि बेशी तथा फाँटहरू प्रशस्त छन् । प्रदेशमा भरपर्दो सिँचाइ, मल, बीउ र बजारको यथोचित व्यवस्था गर्न सकिएमा खाद्यान्नलगायत नगदे बाली उत्पादनको प्रशस्त सम्भावना छ । विभिन्न अध्ययनहरूले दाङ जिल्लालाई तेलहन, रोल्पा, पूर्वी रुकुम तथा प्युठान जिल्लालाई बीउबिजन, पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठान जिल्लामा कफी र अदुवाजस्ता नगदे बालीको सफल उत्पादन गर्न सकिने देखाएका छन् । बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीमा आँपको राम्रो उत्पादन हुन्छ । यसका अलावा उखु, तरकारी र मसलाजन्य वस्तुहरूको उत्पादनको पनि उच्च सम्भावना देखिन्छ । साथै पशुपालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन र अस्ट्रिचपालन सम्भावना रहेको प्रदेशमा पर्छ, लुम्बिनी ।
लुम्बिनी प्रदेशमा ६६.३ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि छ । देशभर भने ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको स्रोत कृषि रहेको छ । यद्यपि लुम्बिनीमा उत्पादन हुने जग्गा केही घटेको छ । खासगरी वैदेशिक रोजगारी र बसाइसराइले कृषि गर्ने व्यक्तिहरू पहाडतिर कम हुँदै गएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाको कुल १९ लाख ६९ हजार ७७६ हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६ लाख ९७ हजार ३ सय ३१ हेक्टर रहेको छ र जसमध्ये यतिखर पाँच लाख ३९ हजार ४४३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । २०७८÷७९ को तथ्यांकअनुसार लुम्बिनी प्रदेशले धानको देशभरिको उत्पादनमा २१ दशमलव ३५ प्रतिशतको योगदान गर्छ । तीन लाख १७ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको लुम्बिनीमा वर्षेनी १० लाख ४० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गर्छ ।
यस्तै, एक लाख ४४ हजार ९९१ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । वर्षमा करिब चार लाख ६८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको लुम्बिनीले समग्र देशका लागि भने करिब १४ प्रतिशत गहुँ उत्पादनको योगदान गर्छ । वर्षमा एक लाख ४४ हजार ९९१ हेक्टर जमिनबाट चार लाख १७ हजार ७७१ मेट्रिक टन मकै उत्पादन हुने लुम्बिनीले देशको मकै उत्पादनमा भने २३ प्रतिशत भन्दा बढीको योगदान गर्दै आएको छ ।
कृषि र जडीबुटीको सम्भावना पनि लुम्बिनी प्रदेशमा धेरै छ । रोल्पा, पूर्वी रुकुम, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा कफी र जडीबुटी खेती गरी नागरिकको जीवनस्तर उकास्न सकिने सम्भावना छ । आधुनिक भूमि व्यवस्थापन, सिँचाइको प्रबन्ध, बिउविजन तथा रासायनिक मलको उपलब्धता र कृषि ऋणको सहजताबाट यस क्षेत्रको पशुपालन, मत्स्यपालन, माहुरी पालन तथा नगदे वाली एवम् खाद्यान्नको आधार निर्माण गर्न सकिन्छ । यसका लागि कृषि विमा, कृषि भण्डारण र कृषि बजारको विकास पनि उत्तिकै आवश्यक देखिन्छ । लुम्बिनीले प्रदेशका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने खालका नीतिहरू ल्याउन सके कृषि उपजहरूको मनग्ये उत्पादन हुने देखिन्छ । कृषि क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउन सके यसले गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका त खेल्छ नै, साथै रोजगारीका लागि बाध्यतामा परी विदेशिने क्रममा पनि कमी आउन सक्छ ।
पर्यटन
लुम्बिनी प्रदेशको अर्को उच्च सम्भावना भएको क्षेत्र पर्यटन हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वप्रख्यात पर्यटकीयस्थल हो । गौतमबुद्धसँग जोडिएका तिलौराकोट, कुदान, देवदह र रामग्राम यसै प्रदेशमा पर्दछन् ।
नेपालगञ्जको शक्तिपीठ बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउरालीलगायत थुप्रै धार्मिक तथा सांस्कृतिक क्षेत्रहरू लुम्बिनीका अन्य आकर्षण हुन् । जगदिशपुर ताल, सागर ताल, ताल पोखरा, रम्भादेवी मन्दिर, रानीमहल, कालीगण्डकी क्षेत्र, तानसेन दरबार, पाणिनी तपोभुमि, मालारानी, रुरू क्षेत्र, रेसुंगा तपोभुमि, थाप्लेको लेक, कंके देउराली, जलजला, बगरबाबा धार्मिकस्थललाई पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । थारू, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट संस्कृति तथा बाँके र बर्दियामा रहेका प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा पर्यटन विकासको उच्च सम्भावना दखिएको छ । यस प्रदेशमा गजेडी, गैडाहवा, डमरू, सुकेताल, बढैया जस्ता तालतलैया पनि रहेका छन् । चमेरे गुफा, जखेरा ताल, निग्लीहवा, कुदान, सगरहवा, देवदह, रामग्राम, गोटिहवा, धारपानी, पुरन्धारा छहरा, वाह्रकुने दह, रिडी, रानीमहल, श्रीनगर, जितगढी अन्य आकर्षण हुन् । प्रदेशमा धार्मिक मठ मन्दिर नहुने जिल्ला नै छैनन् ।
रानीमहल, भैरवस्थान, शीतलपाटी, दरबार ढोका, नुवाकोट, श्रीनगर, सत्यवती मन्दिर, सुकेताल, वसन्तपुर, सत्यवती ताल, नन्दन ताल, तालपोखरा, केलादीघाट, अर्घली दरबार, दर्लाम कालिका मन्दिर, ऋषिकेश मन्दिर, रम्भादेवी मन्दिर, जन्तीलुङ, मरामकोट, पाटन, जल्पादेवी मन्दिर, ढोलीमारा र खजुरा, धौलागिरी, गाभर भ्याली, डल्ला होमस्टेलगायतका स्थानहरूले पर्यटकहरूलाई तानिरहेका छन् ।
रामपुरफाँट, माडीफाँट, कचलफाँट, निस्दी काउलेको अम्रिसो खेतीले पाल्पाको पहिचान झल्काएको छ । रुरू क्षेत्रमा रहेको तीनमुखे झोलुङ्गे पुलले सबैको मन खिचेको छ । पहिलो र दोस्रो विश्वयुद्धमा बहादुरी देखाएर भिसीसमेत प्राप्त गरेका लाहुरेहरूको किल्ला भनेर भार्सेलाई चिनिन्छ । यहाँ रहेको गोर्खा ग्यालरी नवीनतम् सोचको उपज हो । गुल्मी मुसिकोटको कोटेश्वर मन्दिर, चन्द्रकोटको दिबरुङ धार्मिक क्षेत्र, मालिका मन्दिर, सालिमे दह, बुढी सत्यवती मन्दिर, भू–स्वर्गका रूपमा परिचित ठूलो लुम्पेकले समेत पर्यटकलाई बोलाइरहेका छन् । ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत भू–भाग यही जिल्लाले ओगटेको छ । मगर जातिको घना बस्ती रहेको पूर्वी रुकुम जैविक विविधताको दृष्टिले मूल्यवान् क्षेत्र हो । यहाँ पाइने ओखर, गाँजा, धुपी सल्ला, चिलाउने, कटुस र उत्तरबाहिनी गंगाका कारण सबैलाई नजिक ल्याउने प्रयास कायमै छ । पूर्वी रूकुम लुम्बिनी प्रदेशकै पशुपालन, कृषि र पर्यटनका माध्यमले नौलो गन्तव्य बन्न सक्छ । जिल्ला सदरमुकाम नजिकै रहेको कमल दहले प्राकृतिक सुन्दरता थपेको छ ।
बर्दियाको ठाकुरद्वारा मन्दिर, थारु कला, संस्कृति र संस्कारले पर्यटकलाई लोभ्याएको छ । चेपे ताल, जखेरा ताल, पाण्डवेश्वर महादेव धाम, बंगलाचुली लेक, छिल्लीकोट, गणेशपुर पार्क, पुरन्धारा झरना, चमेरे गुफा, कुलपानी हरित गृह, बाह्रकुने दहले ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्त्व बोकेका छन् । त्रिवेणी धाम, रामग्राम स्तुपा, पाल्हीभगवती मन्दिर, जुङ्गे महादेव, अनुमाघाट, महल पोखरी, देवदह ताल र मदारथान धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् । पण्डितपुर, बाबा बर्दगोरिया जस्ता धार्मिक स्थलले समेत छिमेकी भारतीय पर्यटकहरूलाई खिचेको पाइन्छ ।
त्यतिमात्र होइन, नन्दन ताल, गैंडा ताल, घुमारीघाटले वातावरणीय रूपमा समेत धेरैको मन तानेको छ । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज र कोहलपुरजस्ता तीब्र रूपमा बिस्तारित हुँदै गएका सहरहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सकिने पनि अध्ययनहरूले देखाएका छन् ।
त्यतिमात्र होइन करिब ९५ जातजातिको बसोबास रहेको प्रदेश संस्कृतिमा पनि उत्तिकै धनी छ । यो प्रदेश बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताहरूको त्रिवेणी हो । सारंगी, सिंगारू, टप्पा नाच, थारू संस्कार, लुम्बिनीका सांस्कृतिक आकर्षक पक्ष हुन् ।
प्रदेश जैविक विविधताको दृष्टिकोणले पनि धनी भएकाले आर्थिक विकासको प्रचुर सम्भावना छ । लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई वृहत्तर लुम्बिनीको अवधारणासहित पर्यटनसँग जोड्न सकियो, भने यस प्रदेशको आर्थिक स्तरोन्नतिमा पनि महत्त्वपूर्ण उपलब्धि हुन सक्थ्यो । श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, चीन, जापान, कोरियालगायतका देशहरूबाट बौद्धमार्गीहरूलाई भित्र्याउन सके बौद्ध पर्यटनबाट आर्थिक लाभ लिन सकिन्थ्यो ।
लुम्बिनीको पर्यटनमा पुरातन मानवीय अवशेष रामापिथेकस पार्क, नेपालकै सबैभन्दा ठूलो उपत्यका दाङ, नेपाली वीरताको इतिहास झल्काउने जितगढी किल्ला र मणिमुकुन्द सेनको दरबारको अर्ध संरचना महत्त्वपूर्ण छन् । त्यसैगरी बल्कोट पौवा, पाणिनी तपोभुमि, पाल्पा दरबार, रानीमहल, खस्यौली नुवाकोट पदमार्ग, केवलकार र कामख्यादेवी मन्दिर आदि प्रसिद्ध ठाउँहरूले यस प्रदेशको समृद्धिमा पर्यटन उद्योगको सम्भावनालाई उजागर गर्दछन् । तर, यसका लागि सरकारी स्तरबाट पूर्वाधारमा लगानी गर्दै प्रचार प्रसारमा जोड दिनु आवश्यक छ । पर्यटन उद्योगका क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सके रोजगारी र आय वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह हुन सक्छ ।
पर्यटन सर्किट : अर्को सम्भावना
प्रदेश सरकार स्थापना भएदेखि नै लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई प्रदेशको पहिचान र समृद्धिको आधार बनाउने नीति तथा कार्यक्रमहरू अघि सारिरहेको छ । गौतमबुद्ध जन्मस्थानको साथै लु्म्बिनीका बुद्धभूमिहरू र अन्य पर्यटकीय सम्पदा र स्रोतहरूको आधारमा पर्यटनबाट समृद्धि हासिल हुने प्रदेशको सामथ्र्य बुझेकाहरू बताउने गर्छन् । विश्व शान्तिको मुहान लुम्बिनीको सेरोफेरोमा रहेका जिल्लाहरूमा रामग्राम, अनोमा घाट, ककरपत्ता, हलिदासन नगर, तिलौराकोट, कुदान, निग्लिहवा, गोटिहवा जस्ता बुद्धसँग सम्बन्धित १०० भन्दा बढी पुरातात्विक स्थलहरू छन् । बृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका यी क्षेत्रहरू बौद्ध पर्यटनका मुख्य क्षेत्रहरू हुन् र अन्तरिक र बाह्य गरी ठूलो संख्यामा पर्यटकहरू यी स्थानमा पुगिरहेका हुन्छन् र पु¥याउने सम्भावना उस्तै छ ।
यहाँका मठमन्दिर, तालतलैया, नदीनाला, दुई राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षका साथै सम्पूर्ण वनक्षेत्रमा पर्यटनका प्रशस्त सम्भावनाहरू लुकेका छन् । लुम्बिनी प्रदेशमा हरेक जातजातिका आफ्नै मौलिक संस्कार, परम्परा रहेका छन् । भैरहवा र नेपालगञ्ज जस्ता सहरले भारतका ठूूला पर्यटन बजारसँग सिधा सम्पर्क गर्ने सामथ्र्य राख्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्छ ।
बुद्ध सर्किट
बुद्ध सर्किट पुरानो अवधारणा हो र प्रदेशमा सबैभन्दा चलेको र स्थायी सर्किट पनि हो । गौतमबुद्धको जीवनसँग सम्बन्धित कपिलवस्तुदेखि नवलपरासी (पश्चिम) सम्मका बौद्ध सम्पदा स्थलहरूलाई यस सर्किटले समेटेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भएको लुम्बिनी तथा सूचीकृत हुन बाँकीे तिलौराकोट, रामग्रामलगायत कुदान, निग्लिहवा, सग्रहवा, सैनामैना, देवदहजस्ता बौद्ध स्थलहरूलाई यस सर्किटले समेट्छ ।
यो सर्किटमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके प्रत्यक्ष रूपमा कपिलवस्तु, लुम्बिनी तथा आसपासका क्षेत्र सिद्धार्थनगर, बुटवल, देवदह र रामग्राम लाभान्वित हुन्छन् । त्यसो हुँदा यहाँ आउने पर्यटकको संख्या दुर्लभ पाटे बाघ, एक सिंगे गैंडालगायत घना जंगल रहेका बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्न सक्छन् । लुम्बिनीदेखि बर्दियासम्म पर्यटकलाई देखाउने पर्याप्त स्रोत भए पनि सदुपयोग गर्न सकिएको छ वा छैन ? सबैले मनन गर्नुपर्ने अवस्था आइसकेको छैन । लुम्बिनी आएको पर्यटकलाई कम्तीमा एक महिना खुसी पारेर राख्ने क्षमता र प्राकृतिक स्रोत तथा संस्कृति छ–लुम्बिनी प्रदेशसँग । हरेक गाउँका आ–आफ्ना विशेषता भएकाले पर्यटकको बसाइ अवधि झनै बढाउन सकिने सम्भावना निकै छ ।
गोल्डेन ट्राङ्गल
लुम्बिनी प्रदेश सरकारले अघि सारेको योजना गोल्डेन ट्राङ्गल सर्किट हो । बौद्ध धार्मिक स्थल लुम्बिनी तथा कपिलवस्तु, हिन्दु धार्मिक स्थल स्वर्गद्वारी, बागेश्वरी मन्दिर र प्रदेशको मुख्य पर्यापर्यटनको गन्तव्य बर्दिया तथा बाँके राष्ट्रिय निकुन्जलाई जोड्ने उद्देश्यले यो सर्किट (परिपथ) को अवधारणा आएको हो ।
लुम्बिनी आएका पर्यटकलाई स्वर्गद्वारी पुर्याएर बर्दियामा बसाल्ने तथा नेपालगञ्ज आउने पर्यटकलाई (खासगरी भारतीय) बर्दिया देखाएर स्वर्गद्वारीको दर्शन गराई लुम्बिनी भ्रमण गराउनु यस सर्किटको विशेषता हो । नेपालगञ्ज र लुम्बिनी आउने पर्यटकलाई स्वर्गद्वारी मन्दिरको दर्शनका साथै हिल स्टेशनको आनन्द दिलाउन यो सर्किट उपयोगी बन्न सक्छ । यो सर्किटका सबै स्थान सहज सडक सञ्जालमा जोडिएका र हरेक ७० किमीभित्रमा स्तरीय होटेल सुविधा, होमस्टेको सुविधा, फरक भौगोलिक, सांस्कृतिक र पर्यावरणीय स्वाद लिन सकिने भएकाले यो सर्किट चलायमान हुने हो भने लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रले राम्रै लाभ लिन सक्छ ।
कैलाश मानसरोवरको ‘ट्राञ्जिट’
कैलाश मानसरोवर पुग्नलाई भारतीय पर्यटकको निकै चासो हुन्छ । त्यसैले खासगरी दक्षिण भारतीयहरू हरेक वर्ष कैलाश मानसरोवर जाने क्रम जारी छ । नेपाल कैलाश मानसरोवर पुग्नका लागि उपयुक्त ‘रुट’ हुँदाहुँदै पनि प्रभावकारी योजना र बन्दोबस्तीको सही व्यवस्थापन गर्नबाट चुक्दा फाटफुट लाभमै चित्त बुझाउनु पर्ने अवस्था छ ।
कैलाश मानसरोवर जानका लागि नेपालगञ्ज हुँदै हुम्लाको सिमकोट सजिलो ‘रुट’ हो । यस ‘रुट’ प्रयोग गरेर केही भारतीय पर्यटक कैलाश मानसरोवर पुग्ने पनि गर्छन् । तर, भारतबाट नेपालगञ्ज हुँदै सिमकोट भएर कैलाश मानसरोवर पुग्ने पर्यटकका लागि हवाइ साधनको उपलब्धतादेखि बसोबास तथा अन्य सुविधामा सुधार हुन सकिरहेको छैन ।
कैलाश मानसरोवर जान खोज्ने भारतीय पर्यटकमाँझ नेपालगञ्ज हुँदै मानसरोवर पुग्न सकिन्छ र त्यसका लागि आवश्यक पर्ने सबै व्यवस्थापन गर्न सक्छौं भन्ने मात्र प्रचार गरी कार्यान्वयन गर्ने हो भने लुम्बिनी मात्र नभई कर्णाली प्रदेशले समेत प्रसस्त लाभ लिन सक्छ ।
औद्योगिककरण
लुम्बिनीमा औद्योगिक विकासको सम्भावना पनि रहेको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेशमा नेपालगञ्ज, कपिलवस्तु, दाङ, भैरहवाजस्ता नाकाबाट भारतीय बजारमा सहजै पुग्न सकिन्छ, जसले गर्दा भारतबाट सजिलै कच्चा पदार्थ आयात गर्न सकिने र उत्पादित वस्तु निर्यात गर्न सकिने सम्भावना छ ।
उत्पादनमुलक उद्योगहरूको सर्वेक्षण अनुसार यस प्रदेशमा करिव १३ सय उद्योग सञ्चालनमा छन्, भने ती उद्योगमा ६० हजार बढीले काम पाइरहेका छन् । रूपन्देही, बाँके, कपिलवस्तुमा उद्योगको संख्या बढी छ । यस प्रदेशमा जगदम्बा, अर्घाखाँची, दाउन्ने, सोनापुर, सगरमाथा, घोराही जस्ता ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् । बुटवल, भैरहवा, नेपालगञ्जमा औद्योगिक क्षेत्र सञ्चालनमा छन्, भने अन्य स्थान पनि औद्योगिकरण बन्ने क्रममा छन् ।
प्रदेशमा औद्योगिकरणको विकास गर्ने सम्भावना निकै भएकाले युवाहरूमा उद्यामशीलताको विकास गर्न विद्यालय एवम् विश्वविद्यालयहरूमा उद्यमशीलतासम्बन्धी ज्ञान र सीपको विकास गर्ने खालका पाठ्यक्रमहरू लागू गर्नु आवश्यक छ । यसो गर्नसके प्रदेशको औद्योगिक विकासको आधार तयार गर्न टेवा पुग्न सक्छ ।
लुम्बिनी प्रदेश औद्योगिक उत्पादन त्यसमा पनि सिमेन्ट उद्योगमा प्रगति गरिरहेको प्रदेश हो । यस प्रदेशका पहाडी भू—भागमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगालगायतका कच्चा प्रदार्थको भण्डार रहेको हुँदा सिमेन्ट उत्पादनबाट सातै प्रदेशमा निर्यात गर्न सक्ने सम्भावना देखिन्छ । पर्यावरणीय सन्तुलनलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेशले सिमेन्ट उद्योगलाई प्रमुख प्राथमिकताको उद्योगमा राखी लगानी, उत्पादन र बजारको दीगो विकास गर्नु आवश्यक छ । स्वदेशमा मात्र नभएर यस प्रदेशबाट भारतका छिमेकी जिल्लाहरूमा पनि सिमेन्टको निर्यात गर्न सकिन्छ ।
निष्कर्ष
लुम्बिनी प्राकृतिक स्रोत र साधनका दृष्टिकोणले निकै सम्भावनायुक्त प्रदेश हो भन्नेमा विवाद छैन । लुम्बिनीमा जल, जमिन, वन, पर्यटनको साथै ऐतिहासिक क्षेत्र छन् । जुनसुकै खेतीपाती गरी त्यसबाट मनग्यै लाभ लिने सम्भावना उस्तै छ । विभिन्न उद्योगबाट उत्पादित वस्तुको बिक्रीका लागि पनि अप्ठेरौ छैन, किनकि दक्षिणपट्टि ठूलो जनसंख्या छ । त्यसैले आजको सन्दर्भमा लुम्बिनीको सामथ्र्य निकै राम्रो छ । मुख्य कुरा लुम्बिनीको सामथ्र्यलाई कसरी उपयोग गर्ने भन्ने मात्र हो ।
प्रदेशको नीति तथा कार्यक्रम २०८०÷८१ मा ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को नारासहित यस क्षेत्रको कृषि, पर्यटन र उद्योगको विकासका लागि विभिन्न कार्यक्रमहरू ल्याइएका छन् । विकासका सन्दर्भमा यस प्रदेशले आफ्नो वस्तुस्थितिका साथै पहिलो पञ्चवर्षिय योजना पनि तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । अब यस्ता योजनाबाट प्रेदशबासीले लाभ लिन सक्नुपर्छ ।
लुम्बिनी प्रदेशमा सम्भावना रहेका क्षेत्रमा लगानी विस्तारका लागि पूँजीगत बजेट बढाउने र त्यसलाई समयमै खर्च गर्ने परम्पराको विकास गर्नु आवश्यक छ । कृषि, उद्योग र पर्यटनको पूर्वाधार तयार गर्दै निजी क्षेत्रको लगानी बढाउन नीतिगत पहल गर्नु आवश्यक छ । यसका साथै लुम्बिनी प्रदेशबाट विदेश गई गैरआवासीय नेपालीको रूपमा रहेकाहरूलाई पुनः यस क्षेत्रमा लगानी भित्र्याउन पहल गर्नु जरूरी छ । यसका साथै करको दायरामा नसमेटिएका कतिपय सेवा क्षेत्रहरूलाई समेत करको दायरामा समेट्न सके प्रदेशको स्रोत व्यवस्थापनमा सहजता हुन जान्छ । यसले पूँजीगत लगानीको आधार बढाउन सहयोग गर्न सक्छ ।
प्रदेशको सीमा जोडिएका जिल्लाहरूमा कालो बजारी एवम् सीमा व्यवस्थापन प्रमुख चुनौति बनेको छ । व्यापारीहरूलाई करका सन्दर्भमा अनुशासित बनाई उपभोक्ताको हित संरक्षणमा ध्यान दिन सकियो भने खुल्ला सीमाना व्यवस्थित गर्नुको उपादेयता सान्दर्भिक हुन सक्छ । त्यसैले प्रदेशको ध्यान यतातिर पनि जानु जरुरी छ । यसपछि भने व्यापारबाट उद्योगतिर लगानी प्रवाह बढाउन साना तथा घरेलु उद्योगलाई अनुदान दिएर भए पनि लगानी बढाउन प्रोत्साहन गर्नु जरुरी छ । यसबाट प्रदेशको मात्र नभएर समग्र मुलुककै अर्थतन्त्रमा योगदान पुग्न सक्दछ ।
आर्थिक समृद्धिका लागि सुशासन, पारदर्शिता, योजना र उचित कार्यन्वयन एवम् स्रोत व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ । समयमै विकास निर्माण सम्पन्न गर्न र गुणस्तरीय कामका लागि एकातिर पुँजीगत खर्च बढाउन आवश्यक छ, भने अर्कोतर्फ विकासका कामले कसरी गति लिइरहेका छन् र गुणस्तरीय काम भइरहेको छ वा छैन ? यकिन गर्न आवश्यक हुन्छ । समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारहरूलाई कारबाही गर्ने र ठेक्का रद्द गर्ने शाहस सरकारले गर्नु आवश्यक छ । त्यसैले अब प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशको विकासका लागि यहाँका स्थानीय, व्यवसायी, राजनीतिक दल र सरकार सबैले मिलेर काम गर्नु पर्दछ । खासगरी पर्यटन, कृषि, वन, उद्योगमार्फत् प्रदेशको आर्थिक विकास गर्न सकिने देखिएकाले स्रोतको आधार तयार गर्दै लगानी बढाउने र त्यसको प्रतिफलको ग्यारेन्टीको गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
टक्सार म्यागजिनकाे “समृद्ध लुम्बिनी ” विशेषाङ्कबाट