अनलाइन अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक-प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिको प्रयोगबाट हुने अपराध रोकथामका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट अपराध हुनै नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले अपराध नियन्त्रणका लागि प्रविधिको प्रभावकारी उपयोग गर्दै सही, निष्पक्ष र प्रभावकारी छानबिन, अभियोजन तथा न्यायिक प्रक्रियालाई सशक्त बनाउनुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले डिजिटल अपराध कुनै एक देशको प्रयासले मात्र नियन्त्रण गर्न नसकिने बताउँदै अनलाइन अपराध रोक्नका लागि विश्वव्यापी सहकार्य आवश्यक पर्ने उल्लेख गरे ।
उनले भने, “डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका कामभन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक छ। यदि अपराध भइहालेमा सही, निष्पक्ष, प्रभावकारी छानबिन हुनुपर्छ, न्यायिक प्रक्रिया दुरुस्त हुनुपर्छ, अपराधी उम्किन नपरोस्, निर्दोषलाई फसाइएन भन्ने सुनिश्चित हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले पारस्परिक सहयोगबाट मात्र डिजिटल अपराध नियन्त्रण गर्न सकिने उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग गरी अपराध रोक्ने उपाय खोज्नुपर्ने बताए ।