२१ बैशाख २०८२, आइतबार

जाजरकोट, अछाम र बझाङमा पुनःनिर्माण समन्वय कार्यालय स्थापना हुने

प्रकाशित मिति :  27 February, 2025 2:29 pm


काठमाडौँ । सरकारले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण कार्यलाई तीव्र बनाउन जाजरकोट, अछाम र बझाङमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माणको कामलाई गति दिनका लागि स्थानीयस्तरमै समन्वय कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी आवासमा भएको क्षतिको मूल्यांकन तीव्र रूपमा अघि बढिरहेको बताए ।

साथै, डोटी र बझाङका भूकम्प प्रभावित क्षेत्रहरूको विस्तृत क्षति विवरण (डिडिए) अध्ययन सम्पन्न भइसकेको ठाउँमा पुनःनिर्माण कार्य अघि बढाइने तथा बाँकी स्थानहरूको विस्तृत मूल्यांकन चाँडै गरिने जानकारी दिए ।

गृहमन्त्री लेखकका अनुसार, “जाजरकोट, अछाम र बझाङमा अस्थायी समन्वय सम्पर्क कार्यालय यसै महिनाभित्र स्थापना हुनेछ। पुनःनिर्माण र पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढ्नेछ।”

सरकारले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई प्राथमिकता दिँदै प्रभावकारी समन्वयका लागि यी अस्थायी कार्यालय स्थापना गर्न लागेको हो । यसले प्रभावित नागरिकहरूको पुनःस्थापनामा सहजता ल्याउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !