१४ बैशाख २०८२, आइतबार

शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौंः गृहमन्त्री लेखक

प्रकाशित मिति :  28 February, 2025 5:55 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् ।

शुक्रवार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले कानूनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

उनले संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरुलाई आवश्यक कानून नीति, निर्माण गरेर संविधानका व्यवस्थाहरुलाई जनतासम्म पु¥याउने काममा सरकार लागिरहेको बताए । उनले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानून निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे। उनले शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रिय भागमा राखेर विधेयक पारित हुने बताए ।

व्यवसायिक वातावरण सुनिश्चित गर्न अध्यादेश ल्याइयो

गृहमन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा एमालेको समिकरणबाट बनेको सरकार सरकार बनाउनका लागि र केही नेतालाई प्रधानमन्त्री, मन्त्री बनाउनका लागि मात्रै नबनेको उल्लेख गरे । उनले स्थिर सरकारको निर्माण र त्यसबाट देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रा अगाडि बढाउन उद्देश्यले काँग्रेस—एमालेको सरकार निर्माण भएको बताए ।

गृहमन्त्री लेखकले व्यवसायिक वातावरण सुनिश्चित गर्नका लागि सरकारले अवरोध हुने कानूनलाई समाप्त गरेर सेवालाई सहजता प्रदान गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताए । केही प्राविधकि, प्रक्रियागत कारणले अध्यादेश स्वीकृत हुन नसकेको भएपनि समयावधिभित्रै अध्यादेश स्वीकृत गर्ने बताए । सरकारले ल्याएको अध्यादेशप्रति आम नागरिक, निजी क्षेत्र सबै खुशी रहेको बताए ।

निजी क्षेत्रले शिक्षामा गरेको लगानीले शिक्षाको गुणस्तर बढाएकोमा शंका गर्न नहुने बताए । नेपालको शिक्षाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी रहेको र प्रतिष्पर्धी बनाउन निजी र आवासीय विद्यालयको योगदान महत्वपूर्ण रहेको बताए ।आकर्षण देखाएर अभिभावक र विद्यार्थी तान्ने र पछि असुल्ने काम भएको भए बन्द गर्न चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !