२५ चैत्र २०८१, मंगलबार

अर्घाखाँची धार्मिक पर्यटनको केन्द्र बन्दै-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  28 February, 2025 6:35 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन् ।

सुपा देउराली मन्दिर संरक्षण समितिको १३ औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उहाँले धार्मिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।

‘‘अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’‘, मुख्यमन्त्री आचार्यले भने, ‘‘धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’‘

उनले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । ‘‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ’‘, उनले भने, ‘‘देश/विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्धत पुग्छ ।’‘

मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए ।

उनले सफाइ कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

‘‘संकलित भेटी मन्दिरको सौन्दर्यकरणमा खर्च गर्नुपर्छ’‘, उनले भने, ‘‘ठूला निर्माणका नाममा बजेट छरपष्ट गर्नु हुँदैन । पूर्वाधार निर्माणको जिम्मेवारी सरकारले लिन्छ, समितिले गुरुयोजनाका आधारमा काम गर्नुपर्छ ।’‘

मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुपर्ने बताउँदै पाणिनि सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । ‘‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौँ’‘, उनले भने, ‘‘पतञ्जलि ऋषि यही पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।‘‘

मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न धारणा राखे ।

गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल लगायतले धारणा राखे ।

समितिका अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरि खनालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !