टरिगाउँ विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रारम्भिक रूपमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साथै, थप ९९ करोड रुपैयाँ बजेट सुनिश्चित गर्न मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार, हाल ७५० मिटर लम्बाइको उक्त विमानस्थललाई १,५०० मिटरसम्म विस्तार गर्ने योजना बनाइएको छ ।
विस्तारपछि ७२ सिट क्षमताका जहाजहरू अवतरण गर्न सक्ने अवस्था बन्नेछ, जसले क्षेत्रीय हवाई यातायातलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सन् १९५४ (विसं २०११) मा स्थापना भएको टरिगाउँ विमानस्थलमा हाल ठूला जहाज अवतरण गर्न सक्ने अवस्था छैन। हाल १९ सिट क्षमताका जहाज मात्रै सञ्चालनमा आए पनि ती जहाजहरूले व्यावसायिक लाभ लिन नसकेपछि उडान सेवा लगभग ठप्प भएको छ ।
यही समस्यालाई मध्यनजर गर्दै विमानस्थलको पूर्वाधार सुधार तथा विस्तारका लागि बजेट सुनिश्चित गर्न पहल गरिएको उपप्रमुख चौधरीले बताए ।
उक्त विमानस्थलको अवस्था अवलोकन गर्न केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं दाङ पुगेका थिए । विमानस्थल विस्तारपछि दाङ र आसपासका क्षेत्रका नागरिकहरूले प्रत्यक्ष रूपमा हवाई सेवाको लाभ उठाउन सक्नेछन्, जसले पर्यटन प्रवर्द्धनसँगै समग्र आर्थिक विकासलाई गति दिने अपेक्षा गरिएको छ।