खेल पर्यटनको सम्भावना बढ्दै गएको छ-मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना दिन प्रतिदिन बढ्दै गएको बताएका छन् । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने बलियो आधार तयार हुँदै गएकोमा खुसी व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यका अनुसार खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने उत्कृष्ट माध्यम हो, जसलाई जीवनशैलीसँग जोड्न सकिन्छ । उनले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा खेल पूर्वाधारको विकास गर्न सकिने बताउँदै कपिलवस्तुमा रंगशाला निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्ने प्रतिबद्धता जनाए ।
“खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ खेलाडी उत्पादनका लागि नियमित प्रतियोगिताहरू आयोजना गर्न प्रदेश सरकारले प्राथमिकता दिएको छ,” मुख्यमन्त्री आचार्यले भने, “कपिलवस्तुमा रंगशाला निर्माणका लागि स्थानीय सरकारका प्रमुखहरूसँग छलफल भइसकेको छ। आगामी वर्षको सम्पूरक बजेटमार्फत यसलाई सम्बोधन गर्न आवश्यक पहल लिनेछौँ। समझदारीका आधारमा यो आयोजनालाई अगाडि बढाउने योजना बनाएका छौँ।”
लुम्बिनी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले कपिलवस्तु जिल्ला फुटबल संघलाई सफल आयोजनाका लागि धन्यवाद ज्ञापन गरे।
प्रतियोगिताको उद्घाटन समारोहमा फुटबल संघका अध्यक्ष तिलक थापाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थी, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतको विशेष उपस्थिति रहेको थियो। प्रतियोगितामा विभिन्न आठ समूहले सहभागिता जनाएका छन्।