२६ चैत्र २०८१, बुधबार

सुरु भयो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाे छ-मुख्यमन्त्री आचार्य
प्रकाशित मिति :  9 March, 2025 12:07 pm


दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ र क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

‘‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो‘‘, मुख्यमन्त्री आचार्यले भने, ‘‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।‘’

खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँ बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ । देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !