२० बैशाख २०८२, शनिबार

रोल्पामा स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच तालमेल

प्रकाशित मिति :  12 March, 2025 9:54 pm


रोल्पा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि रोल्पाका प्रमुख दुई विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) र अखिल क्रान्तिकारी (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)) बीच तालमेल भएको छ।

अनेरास्ववियुका अध्यक्ष सूर्य बिक र अखिल क्रान्तिकारीका अध्यक्ष सनिलदेवल बुढाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रोल्पाका चार वटा क्याम्पसमा सहकार्य गर्ने निर्णय गरिएको जनाएका छन्।

विज्ञप्ति अनुसार, अनेरास्ववियुले नवनेपाल क्याम्पसमा अध्यक्ष, जलजला क्याम्पसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित सदस्य, र रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्य लिने सहमति भएको छ।

त्यस्तै, अखिल क्रान्तिकारीले नवनेपाल क्याम्पसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ४ सदस्य, जलजला क्याम्पसमा अध्यक्ष, सहसचिवसहित सदस्य, रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्यबाहेक सम्पूर्ण पद, तथा शहीद स्मृति क्याम्पसमा सम्पूर्ण पदमा उम्मेदवारी दिने सहमति भएको छ।

रोल्पाली जनता तथा विद्यार्थीहरूको आकांक्षा अनुरूप सहकार्य गरिएको दुवै संगठनले उल्लेख गरेका छन् । ऐतिहासिक रूपमा जनयुद्धको उर्वर भूमि मानिएको रोल्पामा सत्तारूढ दल नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियु र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी बीच भएको यो तालमेललाई विशेष रूपमा हेरिएको छ।

राजनीतिक रूपमा प्रतिस्पर्धात्मक देखिने यी दुई विद्यार्थी संगठनहरूले विद्यार्थीहरूको हक, हित, अधिकार तथा शैक्षिक सुधारका लागि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !