दाङमा विद्यालय व्यवस्थापन समिति गठनमा झडप, वडाध्यक्ष र प्रधानाध्यापक मुछिए

दाङ । घोराही उपमहानगरपालिका–१४ स्थित शुभ प्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद सिर्जना भएको छ। विवाद उत्कर्षमा पुग्दा झडप भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिको गठनका लागि आयोजित बैठकमा मतभेद चुलिँदा विवाद झडपमा परिणत हुँदा श्रीधर गिरी र दानबहादुर पुन घाइते भएका छन् ।
याे विषयलाई लिएर वडाध्यक्ष भानसिङ बुढामगर र रुद्र बुढा मुछिएका छन् । विवाद सामाजिक सञ्जालमा छरपष्ट भएकाे छ । प्रधानाध्यापक बुढाले वडाध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । उनका अनुसार बैठकमै वडाध्यक्षले हात हालेर आफूलाई भुइँमा लडाएपछि अन्य व्यक्तिहरूले समेत मुक्का र लात्तीले आक्रमण गरेका थिए ।
तर वडाध्यक्ष बुढाले प्रधानाध्यापकको आरोप अस्वीकार गर्दै विद्यालयमा गुण्डा बोलाएर आतंक सिर्जना गरिएको दाबी गरेका छन् । “समितिको निर्णय लेख्न प्रधानाध्यापक तयार भएनन् । त्यसैबीच बाहिरबाट ल्याइएका व्यक्तिहरूले स्थिति तनावग्रस्त बनाए । मैले कसैलाई छोएको छैन, भिडियो प्रमाण सुरक्षित छ”, उनले स्पष्ट पारे ।
विद्यालय विवादले स्थानीय अभिभावकहरूलाई पनि दुई पक्षमा विभाजित गरेको छ । दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । यस घटनाको अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द मल्ल, इन्चार्ज सोमपाल कामी, संयोजक इन्दु वली र अखिल छैटौँका अध्यक्ष सेवक भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै भर्त्सना गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद भएको पुष्टि गरे । “हालसम्म प्रहरीमा कुनै औपचारिक उजुरी आएको छैन। विवाद विद्यालयकै आन्तरिक विषय देखिन्छ,” उनले बताए ।