३० फाल्गुन २०८१, शुक्रबार

त्रिभुवननगर जेसीजद्वारा संस्थापक उपाध्यक्ष श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

प्रकाशित मिति :  13 March, 2025 7:47 pm


दाङ । त्रिभुवननगर जेसीजले संस्थापक उपाध्यक्ष केदारराज श्रेष्ठको निधनप्रति शाेक प्रस्ताव पारित गरेकाे छ । आज बसेकाे बाेर्ड बैठकले श्रेष्ठकाे निधनप्रति शोक प्रस्ताव पारित गर्दै पूर्व निर्धारित हाेली मिलन कार्यक्रम स्थगीत गर्ने निर्णय गरेकाे महासचिव कृष्णदेव थापाले जानकारी दिए ।

जेसीजका अध्यक्ष टंकबहादुर रावतको अध्यक्षतामा सम्पन्न बैठकले दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, सन् १९८५ मा जेसीज स्थापनाका लागि श्रेष्ठले निर्वाह गरेको भूमिकाकाे सम्मान व्यक्त गरेको छ ।

बैठकले श्रेष्ठले युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक सेवामा पुर्याएको योगदानलाई स्मरण गर्दै उनको योगदान सदैव प्रेरणादायी रहने उल्लेख गरेको छ।

श्रेष्ठ घोराहीका एक सफल व्यवसायी, प्रतिष्ठित समाजसेवी तथा खेलप्रेमी व्यक्तित्वका रूपमा परिचित छन् । उनको निधनले समाजले एक सक्रिय, प्रेरणादायी तथा सेवाभावी व्यक्तित्व गुमाएको बैठकमा सहभागी सदस्यहरूले उल्लेख गरेका थिए ।

यसै बैठकले पूर्वपरिचय तालिम, स्थानीय सरकार तथा महिला मैत्री कानुन कार्यशाला गोष्ठी आयोजना गर्ने, २०८१ को पात्रो प्रकाशन गर्नेलगायतका निर्णय गरेको छ।

श्रेष्ठको निधनमा त्रिभुवननगर जेसीजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !