राप्ती गाउँपालिकाको नवौं स्थापना दिवस मनाइयाे

दाङ । दाङको राप्ती गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा किसान, विद्यार्थी, करदाता, कर्मचारीलगायतका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
उत्कृष्ट विद्यार्थी तथा विद्यालय सम्मान
कार्यक्रममा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरियो । शहीद श्रीनारायण स्मृति पुरस्कारबाट ज्ञानोदय माध्यमिक विद्यालय, पत्थरगढवाका सागर चौधरी र आदर्श नमुना माध्यमिक विद्यालय, लालमटियाकी रेनिशा थारु पुरस्कृतलाई पुरस्कृत गरियाे ।
त्यस्तै शहीद राधाऋषि स्मृति पुरस्कारबाट सर्वोदय माध्यमिक विद्यालय, सिसहनियाका राजिव योगी र ज्ञानोदय माध्यमिक विद्यालय, पत्थरगढवाकी सुनिता शेर्पा सम्मानित भए ।
संस्थागत विद्यालयतर्फ शहीद राम–प्रकाश स्मृति पुरस्कारबाट गोरखा आइडल स्कूल, लालमटियाका दिवस पुन मगर र दीपज्योति इंगलिस स्कूल, सिसहनियाँकी गरिमा चौधरी पुरस्कृत भए । त्यस्तै, उत्कृष्ट विद्यालयतर्फ आदर्श नमुना माध्यमिक विद्यालय, लालमटिया पुरस्कृत भयो ।
उत्कृष्ट किसान, उद्यमी र संघसंस्था सम्मानित
कृषि क्षेत्रतर्फ राप्ती केरा प्रवर्द्धन समूह, उत्कृष्ट उद्यमीतर्फ रम्तेल सहकारी संस्था, राप्ती गार्मेन्ट उद्योग, व्यवसाय कर तिर्ने संस्थातर्फ श्री जनउत्थान सामुदायिक लघुवित्त संस्था सम्मानित भए ।
मरणोपरान्त सम्मानस्वरूप स्व. मोती अधिकारी, स्व. डम्बरराज भुसाललाई सम्मान गरियो । संघसंस्थातर्फ आशाका किरण संस्था, इलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल, ज्वालामाई गण भालुवाङलाई सम्मान गरियो ।
सर्वोत्कृष्ट कर्मचारी तथा पत्रकारिता सम्मान
कार्यक्रममा दीर्घ सेवा सम्मानतर्फ महिला विकास निरीक्षक जीवनकुमारी जिसी सम्मानित भइन् । उत्कृष्ट कर्मचारीमा अधिकृतस्तरकी भारती सन्यासी, असिस्टेन्ट सब–इन्जिनियर विमला भट्टराई, सूचना सम्पादन तथा अभिलेखकर्तातर्फ तुल बहादुर कंवर मगर, श्रेणीविहीन कर्मचारीतर्फ कार्यालय सहयोगी परशुराम चौधरी र मायाकुमारी चौधरी सम्मानित भए।
पत्रकारिता सम्मानतर्फ देउखुरी टुडेका अध्यक्ष सन्तोष कुमार गुप्ता, दंगाली अनलाइनका मुक्तिराम पौडेल, देउखुरी पोष्टका भिसुन शाही ठकुरी, फोटो पत्रकार बालकृष्ण थापा, टक्सार मिडियाकी लक्ष्मी पोख्रेलसहित अन्य पत्रकारहरू सम्मानित भए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेटमणि चौधरीले पालिकाको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए । संघ, प्रदेश सरकारको अनुदानका साथै स्थानीय स्रोत साधनको उपयोग गरेर आर्थिक स्रोत जुटाउनुपर्नेमा उनले जोड दिए ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री इन्द्रजित थारूले स्थानीय निजामती ऐनलाई प्रभावकारी बनाउनुपर्ने र प्रदेश राजधानीलाई व्यवस्थित बनाउन जग्गा एकीकरण पहिलो प्राथमिकता रहेको बताए । उनले राप्ती चक्रपथको बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे ।
संविधानसभा सदस्य दामा शर्माले संघर्षबाट प्राप्त स्थानीय सरकारलाई जनताको घरदैलोमा प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिए । उनले कृषि, शिक्षा, स्वास्थ्यमा पालिकाले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।