१ चैत्र २०८१, शनिबार
अन्तर्वार्ता

“समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी” को सङ्कल्प पूरा गर्ने गरी काम गर्दै छौं-बिष्ट [अन्तर्वार्ता]

प्रकाशित मिति :  15 March, 2025 7:54 am


प्रकाश बिष्ट,
अध्यक्ष
राप्ती गाउँपालिका

  • योजना निर्माणमा नागरिक सहभागितालाई संस्थागत गरेका छौं । जनप्रतिनिधि, नागरिक समाज, महिला, युवा, किसान, व्यवसायी, शिक्षकलगायत सबै सरोकारवालाहरूको संलग्नतासहित गाउँसभा तथा सामाजिक सुनुवाइमार्फत् समस्या पहिचान र समाधानमा जोड दिएका छौं ।
  • गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै पारदर्शी सेवा प्रवाह सुनिश्चित गरिएको छ । साथै, अनुगमन समितिमार्फत् विकास कार्यमा नागरिकहरूको प्रत्यक्ष संलग्नता बढाइएको छ । भविष्यमा प्रविधिमैत्री सेवा, डिजिटल गुनासो व्यवस्थापन र अनलाइन बजेट निगरानी प्रणाली सञ्चालन गरी नागरिक सहभागितालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

राप्ती गाउँपालिकामा हालका मुख्य प्राथमिकताहरू के हुन् ? प्राथमिकताहरूको कार्यान्वयनमा प्रगति कस्तो भइरहेको छ ?
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आएसँगै मेरो नेतृत्वमा “समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी” को सङ्कल्प पुरा गर्ने गरी कार्यसम्पादन भइरहेका छन् । समृद्धिको मुख्य आधारका रुपमा शिक्षा, स्वास्थ्य, कृषि र उद्धमशीलतालाई लिएका छौं । जनताको जीवनस्तरलाई सुधार्नु आजको प्रमुख चुनौती हो, हामी यही चुनौतीलाई अवसरका रुपमा लिँदै अगाडि बढेका छौं । कृषि र ग्रामीण विकासलाई प्रवद्र्धन गर्ने र पर्यावरणीय सन्तुलन कायम राख्नेमा केन्द्रित छौं । पालिकाबासीलाई आवश्यक आधारभूत सेवा र सुविधाहरू पु¥याउँदै उनीहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रयास छ ।

शिक्षा क्षेत्रमा संविधानले ग्यारेन्टी गरेको माध्यमिक तहसम्मको शिक्षा निशुल्क प्रदान गरिरहेका छौं । विद्यालयहरूको पूर्वाधार सुधार र शिक्षकहरूको तालिमलाई प्राथमिकता दिइरहेका छौं । शिक्षकको दरबन्दी मिलान गरेका छौं । साथै, स्वास्थ्य क्षेत्रमा, स्वास्थ्य चौकीहरूको स्तर वृद्धि गर्न र गाउँमा जनस्वास्थ्य सेवाहरूको पहुँच वृद्धि गर्ने काम भइरहेको छ । कृषि र ग्रामीण विकासमा पनि हाम्रो ध्यान पुगेको छ । राप्ती गाउँपालिकाको प्रमुख स्रोत कृषिमै आधारित छ, त्यसैले कृषिमा नवीन प्रविधिहरूको प्रयोग र सस्तो ऋण प्रवाहमार्फत् कृषकलाई उत्साहित गर्ने योजनाहरू लागू गरिएका छन् । अन्न र सागसब्जी उत्पादनमा आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सबै उपायहरू अपनाइँदैछन् । यसै गरी, कृषकलाई आवश्यक तालिम र विपणन सुविधाको सुनिश्चितता गर्दै कृषि क्षेत्रलाई सशक्त बनाइरहेका छौं ।

गाउँको भौतिक पूर्वाधारलाई सुधार्नु हाम्रो अर्को प्रमुख लक्ष्य हो । सडक सञ्जालको विस्तार र मर्मतका लागि योजनाहरू तयार पारिएका छन्, जसले गर्दा ग्रामीण क्षेत्रका नागरिकलाई शहरसँग राम्रोसँग जोड्न सकिन्छ । हामीले पालिकाका सबै वडालाई जोड्ने उद्देश्यका साथ राप्ती चक्रपथको योजना अगाडि बढाएका छौं । जसमा तल्लो खण्डको १७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । यसका अतिरिक्त, सौर्य ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्दै हरित पूर्वाधारको निर्माणमा पनि ध्यान दिइरहेका छौं । जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राख्दै, नदी र जल स्रोतहरूको संरक्षण, वृक्षारोपण र हरियालीको प्रवद्र्धनमा पनि विशेष ध्यान दिइरहेका छौं । हाम्रो उद्देश्य भनेको गाउँपालिकामा हरित क्षेत्रमा बृद्धि गर्दै प्राकृतिक सन्तुलन कायम राख्नु हो ।

प्राथमिकता कार्यान्वयनमा अहिलेका लागि धेरै महत्त्वपूर्ण कदमहरू अघि बढाइसकिएका छन् । विशेष गरी कृषि क्षेत्रको सुधारमा र स्वास्थ्य सेवा क्षेत्रको पहुँचमा सकारात्मक परिवर्तन देखा परेका छन् । शिक्षा, उद्धमशीलतामा दीर्घकालिन उपलब्धी निस्कनेमा हामी ढुक्क छौं । यद्यपि, वित्तीय स्रोतहरूको सीमितता र प्राविधिक क्षमताजस्ता पक्षहरू हाम्रा चुनौतीका रुपमा देखिएका छन् । हामी सबैखाले चुनौती पार गर्दै तर्जुमा गरिएका योजनाहरूलाई समयमै कार्यान्वयन गर्नेमा प्रतिबद्ध छौं । समग्रमा, राप्ती गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि सधैँ अग्रसर भैरहनेछौं ।

शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरूमा पालिकाले के विशेष कदमहरू उठाइरहेको छ ?
मैले माथि नै उल्लेख गरेको छु । हामीले शिक्षा, स्वास्थ्य, कृषि र उद्धमशीलतालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेका छौं । शिक्षा क्षेत्रको सुधार ल्याउने उद्देश्यले विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याएका छौं । विद्यालय शिक्षामा पहुँच र गुणस्तरमा सुधार देखिदै छन् । संविधानको धारा ३१ अनुसार, शिक्षा सबै नागरिकको अधिकारको रूपमा चिन्हित गरिएको छ र गाउँपालिकाले विद्यालयहरूको संख्या वृद्धि गर्दै, दुर्गम क्षेत्रमा नयाँ विद्यालय स्थापना र माध्यमिक तहसम्म शिक्षा निशुल्क गरेको छ । विपन्न, दलित, जनजाति र अपाङ्गता भएका विद्यार्थीहरूलाई विशेष सहुलियत प्रदान गरिएको छ ।

विद्यालयका भौतिक संरचनामा सुधार ल्याउन गाउँपालिकाले आधारभूत संरचनामा लगानी गरेको छ, जस्तै विद्यालय भवन, शौचालय, पानीको सुविधा, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब । “एक विद्यालय, एक स्मार्ट कोठा” अभियानमार्फत् प्रविधिमैत्री शिक्षा प्रणालीको विस्तार गरिएको छ । शिक्षकहरूको तालीम र क्षमता विकासमा जोड दिँदै, पेशागत दक्षता अभिवृद्धि गरिएको छ । गाउँपालिकाले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिँदै युवाहरूलाई स्वरोजगारमुखी बनाउन मद्दत गरेको छ । यसका साथै, शिक्षा व्यवस्थापनमा पारदर्शिता र कार्यक्षमतामा वृद्धि गर्न विभिन्न कार्यक्रमहरू लागू गरिएको छ । विद्यालयहरूको मूल्याङ्कन र प्रगति अनुगमन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउन हरहमेसा प्रयत्न गरिरहेका छौं । शिक्षक दरबन्दी मिलान गरेका छौं, अझै केही चुनौतीहरू छन् । दुर्गम क्षेत्रहरूमा शिक्षा पहुँच र शिक्षकहरूको पेशागत स्तरमा सुधार ल्याउनुपर्ने आवश्यकता छ । हाम्रा योजनाहरूले पालिकाबासीको दीगो र समृद्ध भविष्यको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

पालिकाको दोस्रो प्राथमिकताको क्षेत्र स्वास्थ्य हो । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारहरू गरेका छौं । १३ वटा स्वास्थ्य संस्थाहरू स्थापना गरेर नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा सुधार गरेका छौं । चौविसै घण्टा विशेषज्ञ सेवा प्रदान गरेका छौं । पूर्वी क्षेत्र भालुवाङ र पश्चिमी क्षेत्र सिसहनियामा आधारभूत अस्पताल निर्माण गरेर २४ सै घण्टा आकस्मिक सेवा र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराइएका छौं, जसले नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गरेको छ । प्रादेशिक अस्पताल सञ्चालनको योजना पनि अघि बढाइएका छौं । राप्ती गाउँपालिकाले मोबाइल स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य परीक्षणका कार्यक्रमहरू सञ्चालन गरेको छ, जसले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । कुपोषण नियन्त्रण र नियमित खोप कार्यक्रममार्फत् बालबालिकाहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याइएको छ । सुरक्षित मातृत्व र जेष्ठ नागरिक सेवाका लागि विभिन्न कार्यक्रमहरू चलाइएका छन्, जसले मातृ र नवशिशु मृत्यु दर घटाउन र जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच सुनिश्चित गर्न मद्दत पुर्याएको छ । समग्रमा, राप्ती गाउँपालिकाले स्वास्थ्य सेवामा सुधार गर्न धेरै योजनाहरू अघि बढाएका छन्, जसले नागरिकहरूको स्वास्थ्यको स्तरमा महत्त्वपूर्ण सुधार ल्याएको छ ।

कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । हाम्रो पालिका खाद्यान्न, तरकारी, फलफूल र पुष्प खेतीका लागि अत्यन्त सम्भावना भएको क्षेत्र हो । भौगोलिक हिसाबले पहाडी क्षेत्रमा फलफूल खेती र तराई क्षेत्रमा खाद्यान्न, तरकारी तथा पुष्प खेती पहिलेदेखि गरिन्छ । पालिकाको कृषि विकास शाखामार्फत् बालीमा लाग्ने रोग र कीराहरूको रोकथाम तथा नियन्त्रणको कार्य प्राविधिकमार्फत् गर्दै आएका छौं । करार खेती, तरकारी पकेट विकास कार्यक्रम, आधुनिक कृषि प्रविधि प्रवद्र्धन, जैविक मल उत्पादन जनचेतनामूलक कार्यक्रम र क्षेत्रफलका आधारमा तरकारी खेतीमा प्रोत्साहन सहयोग कार्यक्रम समावेश गरेका छौं ।

‘स्वरोजगारका लागि करार खेती कार्यक्रम’ ले भूमिहीन, सुकुम्बासी र आर्थिक रूपमा कमजोर कृषकलाई जमीन भाडामा दिएर खेती गर्न सहयोग पुर्याएको छ । यस कार्यक्रमअन्तर्गत कृषकहरूलाई तीन वर्षसम्म भाडामा सहुलियत प्रदान गरिन्छ, जसले खाद्य सुरक्षा र उत्पादन वृद्धि गर्दै आत्मनिर्भरता बढाएको छ । यसका अतिरिक्त, तरकारी पकेट विकास कार्यक्रमले स्थानीय कृषकहरूलाई व्यवसायिक खेतीमा प्रोत्साहित गर्दै तरकारी उत्पादनमा आत्मनिर्भरता बढाउने लक्ष्य राखेका छौं । राप्ती गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण र दिगो विकासका लागि कष्टम हायरिङ सेन्टर, ग्रीन हाउस र प्राङ्गारिक खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेका छौं, जसले उत्पादन क्षमतामा सुधार र पर्यावरणीय स्थिरता कायम राख्न मद्दत पुर्याइरहेको छ । कृषकहरूलाई उन्नत बिउ, रासायनिक मल वितरण र तरकारी उत्पादनमा प्रोत्साहन दिनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्दै कृषकहरूको आयस्तर वृद्धि र व्यावसायिक कृषि प्रणालीको विस्तारमा ध्यान केन्द्रित गरिएको छ । यसका साथै, हामीले बाली उत्पादन वृद्धि र उन्नत बिउ वितरणका माध्यमबाट खाद्यान्न सुरक्षा र कृषि उत्पादनमा सुधार ल्याउने प्रयास गरिरहेका छौं ।

उद्दमशीलता क्षेत्रलाई सशक्त बनाउन र उत्पादन क्षमता बढाउन पालिकाले के रणनीतिहरू लागु गरेको छ ?
उद्धमशीलता हाम्रो प्राथमिकताको विषयभित्र पर्दछ । साना र मझौला उद्योगहरूको विकासमा महत्त्वपूर्ण हामीले विशेष ध्यान दिएका छौं । स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक समृद्धिमा ठूलो भूमिका खेलेको छ । कृषि, पशुपालन, हस्तकला, म्यान्युफ्याक्चरिङ, र अन्य घरेलु उद्योगहरूको व्यवस्थापनमा हाम्रो जोड रहेको छ । हामीले पूर्ण व्यवसायमूलक सीप प्रदान गरेका छौं । स्थानीय उत्पादनहरूको बजारीकरण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन हामीले सञ्चालनमा ल्याएका गार्मेण्ट, कागज, साबुनजस्ता साना तथा मझौला उद्योगहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । उद्योगहरूको प्रबद्र्धनका लागि विभिन्न तालिम र कार्यशालाहरू आयोजना गरेर उद्यमीहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गरेका छौं, जसले उनीहरूको उत्पादन क्षमतामा वृद्धि र प्रतिस्पर्धात्मकता सुधार गरेको छ ।

कृषि र पशुपालनको क्षेत्रमा गरिएको पहलले कृषकहरूको आय वृद्धि र आत्मनिर्भरता सुनिश्चित गरेका छौं, भने हस्तकला, साबुन उत्पादन र अन्य निर्माण उद्योगहरूले ग्रामीण क्षेत्रमा बेरोजगारी समाधान गरेका छन् । विभिन्न तालिम र उपकरणको सहायताले स्थानीय उद्यमीहरूको व्यवसाय सञ्चालनमा सहयोग पु¥याइएका छन्, जसले आर्थिक समृद्धिमा वृद्धि गरेको छ । हाटबजार सञ्चालन गरेर स्थानीय उत्पादनहरूको विक्री वितरणलाई सहज बनाएका छौं, जसले उद्यमीहरूलाई बजारमा प्रतिस्पर्धात्मक बनाउन मद्दत पुर्याएको छ । स्वच्छता केन्द्र र पुनःचक्रण उद्योग स्थापना गरेर स्थानीय महिलाहरूलाई रोजगारीका अवसरहरू प्रदान गरेका छौं ।

हाम्रो निरन्तर प्रयासले भविष्यमा स्थानीय स्तरमा आत्मनिर्भरता र समृद्धि ल्याउने छ र उद्योगहरूको विस्तार र रोजगारी सिर्जनामा प्रगति हुनेछ, जसले समग्र क्षेत्रीय विकासमा योगदान पु¥याउने छ भन्ने अपेक्षा लिएका छौं । राप्ती गाउँपालिकाले उद्यमशीलता र रोजगार सृजनामा महत्त्वपूर्ण पहल गर्दै स्थानीय विकासमा सकारात्मक प्रभाव पारेको छ र आगामी भविष्यमा यसका नतिजाहरू अझ स्पष्ट रूपमा देखिने छन् ।

पालिका सुधारका लागि जनताको सहभागिता र प्रतिक्रिया कस्तो छ ?
यहाँले अत्यन्तै राम्रो सन्दर्भ उठाउनु भयो । पालिका सुधारका लागि जनताको सहभागिता र प्रतिक्रिया निकै सकारात्मक रहेको छ । हामीले विभिन्न योजना र कार्यक्रमहरूको कार्यान्वयनमा जनतालाई समावेश गर्ने प्रयास गरेका छौं, जसको परिणाम स्वरूप जनताको विश्वास र सहकार्य बढेको छ । स्थानीय प्रशासन र जनता बीचको संवाद र सहकार्यलाई सुदृढ पार्नका लागि हामीले विभिन्न मञ्चहरूको आयोजना गरेका छौं, जसमा स्थानीय बासिन्दाहरूले आफ्ना सुझाव र प्रतिक्रिया प्रकट गर्ने अवसर प्राप्त गरेका छन् । जनताका विचार र प्रस्तावहरूलाई ध्यानमा राख्दै हामी योजना बनाउन र तिनीहरूको कार्यान्वयनमा प्रगति गर्दै छौं । विशेष गरी, हाम्रा प्रायः सुधारात्मक योजनाहरूमा जनताको प्रत्यक्ष संलग्नता सुनिश्चित गर्नका लागि समितिहरू गठन गरेका छौं । यसले जनतालाई योजनाहरूमा सुधार गर्न र अझ प्रभावकारी बनाउने अवसर दिएको छ ।

जनताको प्रतिक्रिया र सक्रिय सहभागिता प्रदेश र देशभरका अन्य स्थानीय सरकारहरूका लागि पनि एक उत्कृष्ट उदाहरण बनिरहेको छ, जहाँ समुदायको आवाजलाई योजनामा समावेश गरिन्छ । जसको परिणामस्वरूप, स्थानीय स्तरमा भएको समृद्धि र विकासमा जनताको विश्वास अझ बलियो बनिरहेको छ र उनीहरूको योगदान महत्त्वपूर्ण रहेको छ । आउँदा दिनहरूमा पनि हामी जनताको विचार र सुझावलाई आफ्नो कार्यको केन्द्र बनाई राख्नेछौं, जसले हाम्रो गाउँपालिकामा सुधारात्मक कदमहरूको कार्यान्वयनलाई अझ प्रभावकारी र पारदर्शी बनाउनेछ ।

पालिकामा कार्यसम्पादनका क्रममा चुनौतीहरू पनि आए होलान् । कस्ता कस्ता चुनौतीको सामना गर्नुपर्यो ? बताइदिनुहोस् न ।
कार्यसम्पादनका क्रममा थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको छ, जसले हाम्रो विकास र सुधारका योजनामा प्रभाव पारेको छ । सबैभन्दा ठूलो चुनौती भनेको सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय अनुदानको कटौती हो । जब सङ्घ र प्रदेश सरकारले बित्तीय अनुदानको रकम घटाउँछन्, तब स्थानीय तहलाई योजनाहरू कार्यान्वयन गर्नमा कठिनाइ हुन्छ । सङ्घ र प्रदेश सरकारले पालिकाबाट लिने दायित्व एक दिन पनि बिलम्व नगरी लैजान्छन्, आफूले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आर्थिक वर्षको अन्तिममा आएर कटौती गरिदिन्छन्, जसले योजनाको फच्र्छौटमा समस्या उत्पन्न हुने गर्दछ । सङ्घ र प्रदेश सरकारबाट कबोल भएबमोजिमको महत्त्वपूर्ण योजनाहरूका लागि बजेट प्राप्त गर्न सक्दैनौं, जसले विकासको गति कम गर्ने अवस्था सिर्जना भएको छ ।

अर्को चुनौती भनेको, सङ्घ र प्रदेशबाट हाम्रा अधिकारहरूको प्रत्यायोजनमा ढिलाइ हुनु हो । स्थानीय तहलाई आफ्नो कामको प्रभावकारीता बढाउन र योजनाहरूको सही कार्यान्वयन गर्न आवश्यक अधिकारहरूको अभावले गर्दा कठिनाइहरू उत्पन्न भएका छन् । बजेट र योजना बनाउने अधिकारहरूको प्रत्यायोजनमा ढिलाइ हुँदा, हाम्रो काममा जस्तोसुकै अवरोध उत्पन्न हुन्छ, जसको प्रत्यक्ष असर स्थानीय विकासमा पर्छ ।

कानुन निर्माणमा ढिलाइ पनि अर्को प्रमुख चुनौती हो । स्थानीय तहका लागि आवश्यक कानुनी सुधार र प्रावधानहरूको अभावले गर्दा विभिन्न योजनाहरूको कार्यान्वयनमा कठिनाइ सिर्जना हुन्छ । जबसम्म हामीलाई स्थानीय सरकारको कार्यका लागि आवश्यक कानुनी अधिकार र ढाँचा उपलब्ध हुँदैन, तबसम्म प्रभावकारी विकास गर्न कठिनाइ हुनेछ । अन्ततः, बजेटको अप्रयाप्तता पनि चुनौती हो । जब हामीले जनताको हितका लागि योजना बनाउँछौं र ती योजनाहरूलाई कार्यान्वयन गर्न पर्याप्त बजेटको अभाव हुन्छ, तब विकासको प्रक्रिया प्रभावित हुन्छ । यसका कारण, हामीले आवश्यक कार्यक्रमहरूमा वित्तीय सहयोग जुटाउनका लागि विभिन्न वैकल्पिक स्रोतहरूको खोजी गर्नुपर्ने हुन्छ, जुन अझै पनि चुनौतीपूर्ण छ । यी सबै चुनौतीहरूको समाधान गर्नका लागि हामी सङ्घ र प्रदेश सरकारसँग वार्ता गरेर समन्वय गर्ने प्रयास गर्दै छौं । हामी जनताको विकासका लागि निरन्तर काम गर्नेछौं र यी चुनौतीहरूलाई पार गर्दै समृद्धि र विकासको मार्गमा अघि बढ्नेछौं ।

अन्त्यमा केही छुट्यो कि ?
विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो । ३३ महिना गाउँपालिकाको समृद्धिका लागि दिनरात नभनी खट्दै आएका छौं । समृद्धि प्राप्त गर्ने सवालमा नागरिकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी आफै, हाम्रो व्यवहार र हाम्रो सोचाइ परिवर्तन गर्न सचेत हुन जरुरी छ । नागरिकहरूको सहयोग बिना समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन । हामी समृद्धितर्फ उन्मुख छौं । हामी जुन समाजवाद भेटाउने लक्ष्यका साथ अघि बढिरहेका छौं, त्यो सम्भव छ र समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले, म सम्पूर्ण पालिकाबासीलाई आग्रह गर्न चाहन्छु, आज हासिल गरेका उपलब्धिहरूको मूल्याङ्कन गर्दै, आगामी दिनमा थप सुधार र समृद्धि हासिल गर्ने दिशामा सहकार्य गरौं । निर्वाचनको दौरानमा यहाँको घरदैलोमा पुगेर गरेका प्रतिवद्धता पुरा गर्न लागिपरेका छौं । धेरै प्रतिबद्धता पुरा भइसकेका छन्, बाँकी कार्यकालमा क्रमैसँग छुटेका प्रतिबद्धता पनि पुरा हुनेछन् । यहाँहरुको साथ र सहयोगको सदैव अपेक्षा रहने छ । धन्यवाद ।



प्रतिक्रिया दिनुहोस !