२ चैत्र २०८१, आइतबार

नेपाल–चीनबीच पारस्परिक हितका क्षेत्रमा थप लगानी आवश्यक-सभामुख घिमिरे

प्रकाशित मिति :  15 March, 2025 11:38 am


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालमा रहेका लगानी सम्भावनाहरूको पहिचान गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नयाँ परियोजनाहरूलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले नेपाल एक-चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई मजबुत बनाउन आवश्यक रहेको धारणा राखे ।

सभामुख घिमिरेका अनुसार बीआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ अवसर खोल्ने परियोजना हो ।

उनले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रूपमा स्थापित हुनसक्ने बताउँदै भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक रहेको औंल्याए ।

नेपाल–चीन सम्बन्ध केवल आर्थिक वा व्यापारिक साझेदारीमा सीमित नरहेको उल्लेख गर्दै उनले सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि दुई देशबीच सम्बन्ध विस्तार भइरहेको बताए ।

चीन नेपालका लागि भरपर्दो विकास साझेदार रहेको भन्दै नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट भइरहेको सहयोगका लागि आभारी रहेको धारणा व्यक्त गरे ।

सभामुख घिमिरेले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यलाई अझ प्रगाढ बनाउन दुवै पक्षले समान प्रयास गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !