२ चैत्र २०८१, आइतबार

जनगणतन्त्र स्थापनाका लागि माओवादीको ऐतिहासिक जिम्मेवारी-अध्यक्ष दाहाल

प्रकाशित मिति :  15 March, 2025 9:30 pm


भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमण कालको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्ने ऐतिहासिक जिम्मेवारी पार्टीको काँधमा आएको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीले आफ्नै संगठनलाई बलियो बनाउँदै राजनीतिक मुद्दामा केन्द्रित हुनुपर्ने बताए ।

विगतमा अन्य दलहरूसँग भएका चुनावी गठबन्धनप्रति संकेत गर्दै उनले अब संगठनलाई सुदृढ बनाउँदै अघि बढ्ने आवश्यकता औंल्याए ।

दाहालले पार्टीभित्र देखिएको गुटबन्दी, अराजकता र व्यक्तिवादी प्रवृत्तिले संगठनलाई कमजोर बनाएको उल्लेख गर्दै, यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने धारणा व्यक्त गरे । उनले पार्टीलाई नयाँ प्रक्रियाबाट अघि बढाउँदै बलियो जनसंगठन निर्माण गर्ने समय आएको बताए ।

“अब हामीले आफ्नो संगठन, जनता र राजनीतिक मुद्दाको बलमा लड्नुछ । संक्रमण कालको अन्त्य गरी गणतन्त्रलाई जनगणतन्त्र वा समाजवादी गणतन्त्रतिर लैजानुपर्नेछ । यो आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी फेरि हाम्रो पार्टीको काँधमा आएको छ,” दाहालले भने ।

उनले पार्टी संगठनमा देखिएका विकृतिहरू अन्त्य गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । त्यसैगरी, अध्यक्ष दाहालले मधेसमा आफूले प्रारम्भ गरेको अभियानले नेपाली कांग्रेस र नेकपा (एमाले) त्रसित भएको दाबी गरे । जनतामा पार्टीको प्रभाव बढ्दै गएकाले अन्य दलहरूमा असहजता देखिएको उनको भनाइ थियो ।

“देशप्रतिको जिम्मेबारीबोधले नै ७० वर्षको उमेरमा पनि म देशव्यापी आन्दोलनमा होमिएको छु,” उनले भने । उनको भनाइले माओवादी केन्द्रले आगामी दिनमा पार्टी सुदृढीकरणका साथै आफ्नै एजेन्डा लिएर अघि बढ्ने संकेत दिएको छ।



प्रतिक्रिया दिनुहोस !