२ चैत्र २०८१, आइतबार

प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अघि बढाउने तयारी

प्रकाशित मिति :  15 March, 2025 9:34 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरी पारित गर्ने तयारी गरेको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधि सभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका तय गरेको हो ।

निर्धारित कार्यतालिका अनुसार चैत ४ र चैत ७ गते बस्ने बैठकहरूले सबै प्रतिस्थापन विधेयक पारित गरी राष्ट्रिय सभामा पठाउने निर्णय गरिएको छ ।

परामर्श समितिले चैत ४ देखि १५ गतेसम्म प्रतिनिधि सभाका बैठकहरूमा विधेयक छलफल गर्ने योजना तय गरेको छ । प्रतिस्थापन विधेयकहरूसँगै नियमित प्रक्रियाबाट आएका विधेयकहरू पनि पारित गरिने बताइएको छ।

सरकारले चालु अधिवेशन सुरु हुनु केही दिनअघि पुस २९ गते पाँचवटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश जारी गरेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार अध्यादेशहरू संसद्को पहिलो बैठकमा पेश गर्नुपर्छ र ६० दिनभित्र संघीय संसद्को दुवै सदनबाट पारित गरी राष्ट्रपतिबाट लालमोहर लगाउनुपर्छ ।

यसैबीच, सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा टेबल गर्ने अवस्था नबनेपछि फिर्ता लिइएको छ ।

अन्य प्रतिस्थापन विधेयकहरू, जसमध्ये आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन र निजीकरण पहिलो संशोधन अध्यादेश प्रतिनिधि सभाको बैठकमा नै छलफल गरी निर्णयार्थ अघि बढाइने कार्ययोजना बनाइएको छ । प्रतिनिधि सभाको यो तयारीसँगै विधेयक पारित प्रक्रियामा गति आउने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !