कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौँ । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ ।
कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरेका थिए ।
कार्यक्रममा सांसद केसीले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए । कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबटा सक्दो सहयोग गर्ने प्रतिबद्धता सांसद केसीले व्यक्त गरे ।
वरिष्ठ सहित्यकार एवं समालोचक प्रा.डा. बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए ।
एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यताहरूलाई इमान्दार भएर परिपालन गरिएको बताए । नेपाली गजल साहित्यको आसलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए ।
उपप्राध्यापक दिपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुची लोभलाग्दो भएको बताए । उनले मानवीय संवेदनलाई साहित्यमार्फत व्यक्त गर्नु आफैँमा प्रसंशनीय कार्य भएको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
कवि तथा गजलकार सुदिम्न दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए । मुलतः सामाजिक, राजनीतिक विषयवस्तु र मायाप्रेम अनि अध्यात्मवादी साथै मानवतावादी चिन्तन नै आफ्नो रुची भएको सुदिम्न बताउँछन् । ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रहमा २५ कविता र ३१ गजल गरी ५६ वटा रचना समावेश गरिएका छन् । देवकी घिमिरे दाहाल प्रकाशक रहेको साहित्य शैलीको मूल्य १५० रुपैयाँ रहेको छ ।