३ चैत्र २०८१, सोमबार

जनप्रशासन क्याम्पसमा नेविसंघ-क्रान्तिकारी गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक

प्रकाशित मिति :  16 March, 2025 4:31 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चुनावी तालमेल गरेका नेविसंघ, अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनले संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

उक्त प्रतिबद्धतापत्रमा जन प्रशासन क्याम्पसको शैक्षिक क्यालेण्डर निर्माण गरी लागू गर्न पहल गर्ने, क्याम्पसका समग्र प्रशासनिक तथा शैक्षिक क्रियाकलापलाई डिजिटलाइज्ड गरी डिजिटल जनप्रशासन क्याम्पसको अवधारणा कार्यान्वयन, गभर्नेन्स तथा पोलिसी ल्याबको स्थापना, विद्यार्थीहरुलाई नेपाल सरकारका निकायहरुमा भत्ता सहितको इन्टर्नशीप, विद्यार्थीहरुलाई निशुल्क रूपमा लोकसेवा आयोगको तयारी कक्षा तथा नमूना परीक्षाको व्यवस्था तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन, तालीम तथा कार्यक्रमहरुमा सहभागिताका लागि साझेदारी गर्ने लगायतका विषय समावेश छन्।

त्यसैगरी अनलाईन कक्षालाई प्रभावकारी बनाउने, अपांगता भएकाहरुका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था, पुस्तकालय, खेल मैदान तथा क्यान्टिनलाई व्यवस्थित बनाउने, क्याम्पसको भौतिक पूर्वाधारमा सुधार र अपांगतामैत्री बनाउने, छात्राहरूको लागि निशुल्क सेनिटरी प्याड भेन्डिङ मेसिन राख्ने, कक्षाकोठामा डिजिटल शिक्षण बोर्ड तथा सिसिटिभी राख्ने र क्याम्पसको प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउन र गुनासाहरूको तत्काल सम्बोधनका लागि द्रुत प्रतिकार्य टोली निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनले गरेको छ।

जनप्रशासन क्याम्पसमा स्ववियु चुनावका लागि नेविसंघ, अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनको संयुक्त प्यानलबाट अनिकेत तिवारी अध्यक्षको उम्मेदवार छन् भने सचिवमा विनोद ऐर र कोषाध्यक्षमा संयोगमणि अधिकारीले उम्मेदवारी दिएका छन्। अध्‍यक्षका उम्मेदवार तिवारीले प्रतिबद्धतापत्रमा लेखिएका कुराहरू आफूले नयाँ स्ववियुमा कार्यभार सम्हालेको दिनदेखि नै कार्यान्वयन गर्न सुरू गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !