३ चैत्र २०८१, सोमबार

तुलसीपुर खानेपानी उपभोक्ता समितिमा भण्डारी अध्यक्ष, भुसाल सचिवमा निर्वाचित

प्रकाशित मिति :  17 March, 2025 6:48 am


तुलसीपुर । बहुप्रतिस्पर्धात्मक रूपमा हेरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेसका यमकान्त भण्डारी र सचिवमा नेकपा (एमाले) का भुवन भुसाल निर्वाचित भएका छन् ।

सात हजार १२ मत खसेको निर्वाचनमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका यमकान्त भण्डारीले दुई हजार ९६९ मत प्राप्त गर्दै जित दर्ता गरे। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सिताराम शर्मा आचार्यले दुई हजार ३८१ मत प्राप्त गरे भने नेकपा (एमाले) का मनोज लामिछानेले एक हजार २१३ मत ल्याए।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका नारायणप्रसाद शर्मा विजयी भए । उनले दुई हजार ६ मत प्राप्त गर्दा एमाले प्यानलका लक्ष्मण केसीले एक हजार ९०३ तथा माओवादी प्यानलका दुर्गाप्रसाद भण्डारीले एक हजार ४२० मत प्राप्त गरे।

सचिव पदमा नेकपा (एमाले) का भुवन भुसाल निर्वाचित भए। उनले दुई हजार ४५१ मत प्राप्त गर्दा कांग्रेसका रञ्जनकुमार शर्माले दुई हजार ४१३ मत पाए। माओवादी गठबन्धनका रुद्रबहादुर वलीले भने एक हजार ९७ मतमा सीमित भए।

कोषाध्यक्ष पदमा नेपाली कांग्रेसका भोला थापा भारी मतान्तरले विजयी भए। उनले तीन हजार २६८ मत प्राप्त गर्दा एमालेकी सुशीला न्यौपानेले एक हजार ४२३ र माओवादी गठबन्धनका कर्णबहादुर वलीले एक हजार २०६ मत पाए।

यस निर्वाचनमा नेपाली कांग्रेसले सम्पूर्ण पदमा एकल उम्मेदवारी दिएको थियो भने नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई साथ लिएर प्रतिस्पर्धा गरेको थियो । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) भने अन्य वामपन्थी दलहरूसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !