३ चैत्र २०८१, सोमबार

प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरूले वेश्यालय गएर अन्तर्राष्ट्रिय रूपमा नेपालको बेइज्जत गरे

प्रकाशित मिति :  17 March, 2025 4:36 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा\महाराजाहरूले वेश्यालय गएर अन्तर्राष्ट्रिय रूपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजा\महाराजाहरूले विदेशीको चाकडी कसरी गरेका थिए ? रबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताएका हुन् । उनले अरू सबैकुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए ।

“राजनीतिक सिस्टम, राजनीतिक मान्यता परिवर्तन गर्न सकिन्छ । परिस्थिति र जनताको चाहनाअनुसार । तर एउटा चिज परिवर्तन गर्न सकिँदैन । राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता र जनतामा गएको सार्वभौम सत्ता परिवर्तन गर्न सकिँदैन । सार्वभौम सत्ता यसअघि व्यक्ति र वंशमा आधारित थियो । नेपाली जनतामा गएको सार्वभौम सत्ता परिवर्तन हुन सक्दैन । अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधान विपरित काम हो । जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ,”उनले भने ।

अध्यक्ष दाहालले काँग्रेस—एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरूले सरकारमा जाने कुनै नीति नलिएको बताए । देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरूले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !