राजनीतिक अस्थिरता जनताको लागि अपाच्यः महासचिव चन्द

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् ।
झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताउनु बताएका हुन् ।
चन्दले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको चर्चा गर्दै जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताए ।
उनले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेकोमा जोड दिए ।
उनले भने, “राजनीतिक अस्थिरता जनतको लागि अपाच्य भएको छ । जनताहरु थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले व्यहोर्नुपर्ने, हामीले रखडा गरेको राजश्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो ।”
चन्दले आर्थिक र राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले भने, “पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्नैपर्छ ।”
संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको चन्दको सुझाव छ ।
—न्युज एजेन्सी नेपाल