गायक दुर्गेश थापाले एसईई परीक्षाको अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा

काठमाडौँ । लोकप्रिय गायक दुर्गेश थापाले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले परीक्षार्थी विद्यार्थीहरूको अध्ययनलाई ध्यानमा राख्दै मेला, महोत्सव तथा अन्य सांगीतिक कार्यक्रमहरूमा सहभागी नहुने जानकारी गराएका हुन्।
दुर्गेश थापाले आफ्नो घोषणा पत्रमा शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति भएको उल्लेख गर्दै एसईई परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको लागि मेहनत गर्न प्रेरित गरेका छन्। “हजुरहरूको सफलता नै मेरो सफलता हो। जब हजुरहरूको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ,” उनले भनेका छन्।
थापाले पछिल्लो समय धेरै कार्यक्रमहरूका लागि प्रस्ताव आएको बताए पनि परीक्षाका कारण आफू सहभागी नहुने स्पष्ट गरेका छन्। उनले परीक्षा अवधिभर सञ्चालन हुने कुनै पनि कार्यक्रममा आफूलाई सम्पर्क नगर्न आयोजकहरूलाई अनुरोध गर्दै त्यसबाट असुविधा पुगेको भए क्षमायाचनासमेत गरेका छन्।
एसईई परीक्षार्थीहरूलाई सन्देश दिँदै उनले भने, “परीक्षा भनेको केवल अंक ल्याउने माध्यम मात्र होइन, यो मेहनत र इमानदारीको परीक्षा हो। आत्मविश्वासका साथ, धैर्य राख्दै, आफ्नो लक्ष्यप्रति समर्पित हुँदै अगाडि बढ्नुहोस्। मलाई विश्वास छ, सबैजनाले असल नतिजा ल्याएर अभिभावक, शिक्षक, र देशलाई गर्व गराउनुहुनेछ।”