आजदेखि एसईई परीक्षा सुरु : पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि २,०७९ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा सञ्चालन भइरहेको छ ।
यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्षको तुलनामा परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले बढेको छ । २०८० सालको परीक्षामा चार लाख ६४ हजार ७८५ जना सहभागी भएका थिए ।
परीक्षालाई व्यवस्थित बनाउन केन्द्रहरूमा आवश्यक व्यवस्थापन गरिएको छ । १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक तोकिएको छ । ७५ जना भन्दा कम परीक्षार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्ष नराखिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।