जटिल रोगको उपचारका लागि बीमाको विकल्प खोज्नुपर्छ- स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ठूला तथा जटिल रोगहरूको उपचारमा बीमाको दायरा पाँच लाख पुगे पनि यो पर्याप्त नभएकाले वैकल्पिक उपाय खोज्नुपर्ने बताएका छन् ।
बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले विशेषगरी मष्तिष्क पक्षघात (स्टोक) जस्ता रोगहरूको औषधि महँगो भएकाले बीमा बाहेकका अन्य स्रोत तथा व्यवस्थापनका विकल्प अपनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले समयमा उपचार नपाउँदा बिरामीको अङ्गभङ्ग हुने वा मृत्यु समेत हुनसक्ने भन्दै स्वास्थ्य सेवा व्यवस्थित गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए ।
बीमा नै एकमात्र दीर्घकालीन उपाय
मन्त्री पौडेलले स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न बीमालाई व्यवस्थित गर्न सरकार लागिपरेको बताए। “बीमा बाहेक नेपाली जनतालाई स्वास्थ्य सेवा दिने अर्को उपाय छैन। संवैधानिक व्यवस्था अनुरूप सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन बीमालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ,” उनले भने ।
उनका अनुसार, हाल पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराइएको भए पनि जटिल रोगहरूको उपचार खर्च धेरै महँगो हुने भएकाले थप वित्तीय संयन्त्रको खोजी गर्नुपर्ने आवश्यकता छ। “स्टोक जस्तो रोगको उपचार समयमा हुनसके बिरामीको जीवन जोगाउन सकिन्छ, तर उपचार खर्च धेरै भएपछि बिरामीको परिवार आर्थिक रूपमा तहसनहस हुन्छ,” मन्त्री पौडेलले थपे ।
स्टोक उपचारका लागि अमेरिकी सहयोगमा औषधि
कार्यक्रममा स्वास्थ्य मन्त्रालयले मष्तिष्क पक्षघातको उपचारका लागि अमेरिकी सहयोगमा औषधि प्राप्त भएको जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार, यदि बिरामीलाई स्टोक भएको चार घण्टाभित्र उक्त औषधि इन्जेक्सनमार्फत् दिन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ।
स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन साधनस्रोत र नीति व्यवस्थापनलाई दिगो बनाउने आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि आगामी दिनमा थप सुधारका उपायहरू अपनाइने जानकारी दिए।