२५ चैत्र २०८१, मंगलबार

चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार हुने

प्रकाशित मिति :  21 March, 2025 1:30 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।

स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुटेका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट परीक्षणको प्रक्रियाका विषयमा जानकारी दिँदै भनिन्, “परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिन्छ ।”

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !