चैत्रकृष्ण एकादशी : पापमोचनी एकादशी व्रत गरिँदै

काठमाडौँ । जीवनमा जानी नजानी गरिएका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने यो व्रत भगवान् विष्णुको पूजा, आराधना गरी विधिपूर्वक गरिन्छ।
पौराणिक मान्यता अनुसार, यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई तथा लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । यस अवसरमा विशेष गरी भक्तजनहरूले व्रत बसी भगवान् विष्णुको उपासना गर्दै भक्ति भावना प्रकट गर्छन्।
प्राचीन कालमा वसन्त ऋतुका बेला अप्सराहरूले विहार गर्ने चैत्ररथ नामक वन थियो । त्यहाँ च्यवन ऋषिको आश्रममा मेधावी नामक ऋषि कठोर तपस्या गर्दै थिए । मञ्जुघोषा नामकी अप्सराले उनलाई मोहित बनाउन खोज्दा, ऋषि मोहमा परेर आफ्नो तपस्या भंग गर्न पुगे ।
ऋषि मेधावी र मञ्जुघोषाले ५५ वर्ष, नौ महिना, तीन दिन रमण गरे तर, पछि ऋषिले आफ्नो गल्ती बोध गरी मञ्जुघोषालाई श्राप दिएर पिशाचिनी बनाइदिए । जब अप्सराले क्षमा मागिन्, ऋषिले चैत्रकृष्ण एकादशीको व्रत गरी पापमोचन गर्न सुझाए । व्रत पूरा गरेपछि उनीहरू दुवै श्रापमुक्त भएका कथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
व्रतको महत्त्व
सनातन परम्पराअनुसार, पापमोचनी एकादशी व्रतले जानी-नजानी गरिएका सम्पूर्ण पाप नाश हुन्छन् । यो व्रतको माहात्म्य श्रवण मात्र गर्दा पनि हजार गाई दान गरेबराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
नेपालका विभिन्न मठ-मन्दिरहरूमा आज भक्तजनहरूले व्रत बस्दै भगवान् विष्णुको आराधना गरिरहेका छन् । सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाका अनुसार, यो व्रत ग्रहण गर्दा पुण्य प्राप्त हुनुका साथै आध्यात्मिक उन्नति पनि हुने विश्वास गरिन्छ ।